फिल्म । अभिनेता अनमोल केसी डेब्यु फिल्म ‘होस्टेल’ देखि नै नव निर्देशकसँग काम गरिरहेका छन् । उनले आफ्ना फिल्महरूमा आफूलाई सहरिया भूमिकामा प्रस्तुत गरे । कलेज ब्वाईका रुपमा अनमोल देखिए । पछिल्लो फिल्म ‘जेरी अन टप’ सम्म आइपुग्दा पनि अनमोल लभर ब्वाई र सहरिया भूमिकामै देखिए । उनै अनमोल आगामी फिल्म ‘बाटुलो जुन’ मा ग्रामिण भेगमा रहेर गाउँलेलाई पढाइ रहेको भूमिकामा देखिएका छन् । यसपटक उनको स्वरूप नै अघिल्ला फिल्म भन्दा फरक छ । उनी आज भन्दा झन्डै ४० वर्ष अगाडिको ग्रामिण परिवेशमा शिक्षाको ज्योति फैल्याउने युवाको भूमिकामा छन् ।
‘मैले सहरिया भूमिका धेरै गरे, यसपटक ग्रामिण परिवेशलाई बुझ्न र बाच्न पाएँ । मेरा लागि यो नयाँ र फरक अनुभव रह्यो’, अनमोलले भने । उनले आफ्नो फिल्मी यात्रामा आफ्नै बुवा तथा अभिनेता भुवन केसीको निर्देशनमा दुई फिल्ममा मात्र काम गरेका छन् । नयाँ सोच भएका निर्देशकको फिल्ममा काम गरेका अनमोलले भुवन जत्तिको मेहनती अरु निर्देशक पाएनन् ।
‘मैले बुवाको निर्देशनमा किन दुई फिल्ममा मात्र काम गरे भनेर रिग्रेट फिल गर्छु, किनकि यो उमेरमा उहाँले देखाउनुभएको देडिकेसन साचै तारिफयोग्य छ’, अनमोलले भने ।
अनमोलले भने झैँ यसपटक उनी ‘बाटुलो जुन’ मा फरक देखिएका छन् । उनलाई पात्र सुहाएको छ भने फिल्मले आफ्नै एउटा संसार तयार गर्न सफल भएको छ । भुवन केसीको निर्देशनमा बनेको फिल्ममा न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, अमितेश शाह, शिशिर सिवाकोटी, हिना नगरकोटी र संगी अधिकारीलगायत कलाकारको पनि अभिनय रहेको छ । सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्मका निर्माता जीया केसी र भविष्य खड्का हुन्।









