फिल्म । नेपाली फिल्म ‘पाँच पाण्डव’को प्रदर्शनलाई लिएर उत्पन्न अन्योल अन्त्य भएको छ । फिल्मको प्रदर्शन रोक्न सकिने आशयका खबर सार्वजनिक भएपछि सञ्चार मन्त्रालयमा आज बसेको बैठकले केन्द्रीय चलचित्र जाँच समितिले यसअघि गरेको निर्णयलाई निरन्तरता दिने निर्णय गरेको हो।
फिल्म ‘पाँच पाण्डव’का प्रतिनिधि र केन्द्रीय चलचित्र जाँच समितिका प्रतिनिधिबीच भएको बैठकले जाँच पास भइसकेका फिल्मलाई कुनै पनि बहानामा प्रदर्शनमा रोक लगाउन नहुने निष्कर्ष निकालेको छ। बैठकले फिल्मको निर्बाध प्रदर्शनका लागि आवश्यक वातावरण मिलाउने निर्णय गरेको हो।
चलचित्र जाँच समितिका सदस्य मनोज पण्डितका अनुसार बैठकमा मुख्यतः तीनवटा विषयमा छलफल भएको थियो। पहिलो, समितिले प्रदर्शन अनुमति दिइसकेपछि फिल्म प्रदर्शन गर्ने अधिकार फिल्मकर्मीमा रहने, दोस्रो, फिल्मकर्मीको सिर्जना र प्रदर्शनको अधिकार राज्यले पूर्ण रूपमा संरक्षण गर्ने र तेस्रो, फिल्मकर्मीले आफ्नो दायित्वबोध गर्नुपर्ने विषयमा छलफल भएको उनले बताए।
‘आगामी दिनका लागि पनि एउटा नजिर बसेको छ। जाँच समितिले हेरेर पास गरेपछि समितिको विश्वसनीयता तथा गरिमा जोगाउनु राज्यको दायित्व हो। त्यसैले अन्य बहानामा फिल्मको प्रदर्शन रोक्न नपाइने विषयमा सबै स्पष्ट भएको हुनुपर्छ। यसले आगामी दिनमा केन्द्रीय चलचित्र जाँच समितिले गरेका निर्णयलाई बलियो बनाउँछ,’ पण्डितले भने।
उनले राज्य फिल्मकर्मीको सिर्जनात्मक अधिकार संरक्षण गर्ने विषयमा जिम्मेवार र स्पष्ट रहेको बताए। फिल्म प्रदर्शन रोक्नु समस्याको समाधान नभएको निष्कर्षसहित सञ्चारमन्त्रीले पनि चलचित्र जाँच समितिले गरेको निर्णय नै अन्तिम हुनेमा जोड दिएको उनले जानकारी दिए।
सदस्य पण्डितले राजनीतिक, धार्मिकजस्ता गम्भीर विषयमा निर्माण गरिएका फिल्मको प्रचारप्रसारमा निर्माण पक्ष गम्भीर हुनुपर्ने पनि बताए। जाँच समितिले फिल्म हेरेर प्रदर्शन अनुमति दिएको उल्लेख गर्दै उनले विवाद फिल्ममा प्रदर्शन रोक्नुपर्ने विषय नभई प्रचारप्रसारका कारण उत्पन्न भएको धारणा राखे।
उनले जाँच समितिले दिएको अधिकार प्रयोग गर्दै निर्माताले घोषणा गरेकै मितिदेखि फिल्म निर्बाध रूपमा प्रदर्शन गर्न सक्ने बताए। ‘पाँच पाण्डव’मा धार्मिक विषयवस्तुलाई गलत ढङ्गले प्रस्तुत गरिएको भन्दै विभिन्न क्षेत्रबाट विरोध भएको थियो। विशेषगरी हिन्दु धर्मग्रन्थकी पात्र द्रौपदीलाई बारमा नचाइएको लगायतका दृश्य आपत्तिजनक रहेको भन्दै विभिन्न धार्मिक सङ्घसंस्थाले विरोध जनाएका थिए।
फिल्ममा हरिवंश आचार्य, आर्यन सिग्देल र जितु नेपाललगायतका कलाकारको मुख्य भूमिका छ। सुशील पौडेलको लेखन रहेको फिल्मलाई वसन्त निरौलाले निर्देशन गरेका हुन्।









