‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सकियो

फिल्म । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक फिल्म ‘म मदनकृष्ण’को पहिलो चरणको छायांकन सकिएको छ । असोज २ गतेदेखि काभ्रेको धुलिखेलमा सुरु भएको फिल्मको पहिलो चरणको छायांकन सम्पन्न भएको हो ।

पहिलो चरणको छायांकनका क्रममा कलाकार मदनकृष्ण श्रेष्ठ स्वयं सेटमा उपस्थित थिए । उनले सेटमै बसेर प्रत्येक दृश्यको अवलोकन गर्नुका साथै आवश्यक सुझावसमेत दिएका थिए ।

‘उहाँ आफ्नो जीवनीमा आधारित फिल्मको छायांकन हेरेर निकै भावुक पनि हुनुभएको छ । फिल्मको काम देखेर उहाँ सन्तुष्ट पनि हुनुहुन्छ’, निर्देशक मिलन चाम्सले भने, ‘जसको कथामा फिल्म बनिरहेको छ, उहाँ स्वयं सेटमा हुँदा हामीलाई काम गर्न थप सहज भएको छ।’

निर्देशक चाम्सका अनुसार फिल्मको दोस्रो चरणको छायांकन दसैँलगत्तै सुरु हुनेछ । फिल्ममा मदनकृष्ण श्रेष्ठको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गरिरहेका छन् भने यशोदाको भूमिकामा अभिनेत्री केकी अधिकारी देखिनेछिन् । यशोदा मदनकृष्णकी श्रीमती हुन् ।

त्यस्तै, हरिवंश आचार्यको भूमिकामा अरुण क्षेत्री देखिनेछन् । मदनकृष्ण र हरिवंशको कलाकारिता यात्रामा रहेको सहकार्यलाई ‘मह जोडी’का रूपमा चिनिन्छ । अरुणको जोडीका रूपमा अभिनेत्री वर्षा राउत देखिनेछिन् । उनले हरिवंश आचार्यकी श्रीमतीको भूमिका निर्वाह गर्नेछिन् ।

मदनकृष्णको जीवनका सुख-दुःख, संघर्ष र आरोह-अवरोहलाई समेटेर निर्माण भइरहेको फिल्मलाई मिलन चाम्सले निर्देशन गरिरहेका छन् । फिल्मको कथा तथा पटकथा यम थापाले लेखेका छन् ।

आगामी चैत ४ गतेदेखि प्रदर्शनमा आउने बायोपिकमा मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंश आचार्यसँगको सहकार्य तथा अन्तरजातीय विवाहलगायतका प्रसंग समेटिनेछन् ।

फिल्ममा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी, विनोद न्यौपाने, रुषा न्यौपाने, देशभक्त खनाल, दिनेश डिसी, कृष्णभक्त महर्जन, सुरज तमु, दीया जिसी, सिर्जना अधिकारी र हिउँवाला गौतमलगायतका कलाकारको अभिनय रहनेछ। बाल कलाकारका रूपमा जेविस र जेविन श्रेष्ठ पनि देखिनेछन् ।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा निर्माण हुन लागेको बायोपिक ‘म मदनकृष्ण’का निर्माता राजकुमार श्रेष्ठ हुन् । फिल्ममा पदमबहादुर श्रेष्ठ (बाबु श्रेष्ठ) ले छायांकन निर्देशक (डीओपी) को जिम्मेवारी सम्हालेका छन् भने मिलन श्रेष्ठले सम्पादन, अलिश कार्कीले पृष्ठभूमि संगीत र भरत कँडेलले ध्वनि डिजाइनको जिम्मेवारी सम्हालेका छन् ।

कमेन्ट गर्नुहोस्