फिल्म । अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गर्दै फिल्म ‘सारथी’को प्रोमो सार्वजनिक गरिएको छ। किम्भे प्रोडक्सनको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार फिल्मको प्रोमो सार्वजनिक गरिएको हो।
बच्चा रोएको आवाजसँगै सुरु हुने प्रोमोमा निरुता सिंहलाई काखमा दूधेबालक बोकेको अवस्थामा देख्न सकिन्छ। गम्भीर मुद्रामा प्रस्तुत निरुताको पैतालाबाट रगत बगिरहेको दृश्यले प्रोमोलाई थप रहस्यमय र भावुक बनाएको छ। यसअघिका भूमिकाभन्दा फरक अवतारमा देखिएकी निरुताको प्रस्तुतिले फिल्मको कथावस्तुबारे दर्शकमाझ कौतूहल बढाउने देखिन्छ।
निरुता सिंहसँगै फिल्ममा उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीको अभिनय रहेको छ।
संकल्प भुजेलको छायांकन रहेको फिल्म म्याग्दीको गुर्जा क्षेत्रमा छायांकन गरिएको हो। किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन्।
कुमार गजुरेलको निर्देशनमा बनेको फिल्म आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्मका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन् भने बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्। अमीर केसीले लाइन प्रोड्युसरको जिम्मेवारी सम्हालेका छन्। फिल्ममा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको छ भने आरआर फिल्म्सले वितरण गर्नेछ।










