‘कबड्डी ५’ मा के छ ?

फिल्म । ‘कबड्डी’का अघिल्ला शृंखलाको मुख्य कथा काजीले मैयाँलाई पाउन गरेको संघर्षमा केन्द्रित थियो । तर पाँचौँ भागमा आइपुग्दा काजीको जीवनमा प्रश्न फेरिएको छ, प्रेम पाएपछि जीवन कसरी अघि बढाउने ? अभिनेता दयाहाङ राईका अनुसार ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले यही प्रश्नको व्यावहारिक पाटो खोजेको छ । प्रेम प्राप्त गरेपछि काजीले परिवार, समाज र साथीभाइका लागि गर्नुपर्ने सम्झौतालाई फिल्मको कथामा समेटिएको उनले बताएका छन्।

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ आगामी कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। पाँचौँ शृंखलामा काजीको प्रेमकथा नयाँ मोडमा पुग्ने दयाहाङले बताएका छन्। उनका अनुसार यसपटक काजीको जीवनमा प्रेमसँगै परिवार, समाज, साथीभाइ र बदलिँदो समयले पार्ने प्रभाव देखाइनेछ।

‘प्रेम प्राप्तिको संघर्षबाट अघि बढिसकेको काजीको जीवनमा अब प्रेमसँगै परिवार, समाज, साथीभाइ र व्यक्तिगत जिम्मेवारीको प्रभाव दर्शकले देख्न पाउनुहुनेछ,’ उनले भने, ‘प्रेम पाएपछि त्यसको व्यावहारिक पाटो पनि हुन्छ। त्यही पाटो हेर्न नै ‘कबड्डी ५’ बनेको हो।’

दयाहाङका अनुसार पहिलो भागदेखि पाँचौँसम्म आइपुग्दा काजीको चरित्रसँगै उसको जीवन भोगाइ पनि क्रमशः परिवर्तन हुँदै गएको छ। त्यसैले यसपटक दर्शकले विगतका भागमा देखिएको काजीभन्दा केही फरक रूप पाउनेछन्।

‘कबड्डी’ शृंखलाको सुरुदेखि नै मैयाँसँगको सम्बन्ध महत्वपूर्ण पक्षका रूपमा रहँदै आएको छ। पाँचौँ भागमा फेरि मैयाँसँग भेट हुँदा काजीको मनमा पुरानो प्रेमले हलचल ल्याउनु स्वाभाविक भए पनि यसपटक उसको प्राथमिकता केवल प्रेम प्राप्तिमा सीमित नरहेको दयाहाङ बताउँछन्।

‘यसपटक एउटा इनर्जी, उमेर, आफ्नोपनभन्दा पनि परिवार, समाज, साथीभाइ धेरै चिजसँग काजीले सम्झौता गर्छ। किनभने त्यहाँ उसको सपना जोडिएर गएको छ,’ उनले भने, ‘हिजो प्रेम प्राप्त गर्नु थियो, यसपटक उसले धेरै चिजसँग सम्झौता गरेर जान्छ।’

आफ्नो ‘सोल्टिनी’ अर्थात् मैयाँ जीवनभर काजीले गरेको प्रेम फेरि फर्केर आउँदा उसमा एकपटक हलचल हुने उनले बताए।

‘हरेकको जीवनमा त्यो हुन्छ होला नि। एउटा उमेरसम्म “यो चिज मेरा लागि केही होइन, मलाई आफ्नो निर्णय गर्न देऊ” भन्ने हुन्छ। एउटा समय पार गरेपछि उसलाई परिवार, साथीभाइ र समाज पनि चाहिन्छ,’ उनले भने, ‘त्यो सबै चिजसँग उसले ट्याकल गर्दै जाँदा सम्झौता पनि गर्दै जानेछ।’

‘कबड्डी ५’मा काजीको व्यक्तिगत जीवनसँगै बदलिँदो राजनीतिक परिवेशको प्रभाव पनि देख्न पाइने दयाहाङले बताएका छन्। उनका अनुसार फिल्ममा राजनीतिक विषयलाई नै केन्द्रमा राखिएको छैन। तर समयसँगै आएको राजनीतिक परिवर्तनले पात्रको जीवन र मनोदशामा पार्ने प्रभाव भने देखाइनेछ।

‘पछिल्लो समयको राजनीतिले गर्ने असर, राजनीतिक परिवर्तनसँगै आउने अपेक्षाहरू र परिवर्तनपछिका सपनाहरूको प्रभाव देख्न सकिन्छ,’ उनले भने, ‘तर दोस्रो भागमा जसरी हामीले राजनीतिक विषय नै उठाएका थियौँ, त्यस्तो विषयचाहिँ समेटिएको छैन। दर्शकले अहिलेको अवस्थामा समयसँगै आएको परिवर्तनसँगको काजीको मनोदशा भने देख्न सक्नेछन्।’

यसअघिका शृंखलामा जस्तै यसपटक पनि साथीहरूको उक्साहटले काजीको जीवनमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्नको जवाफ भने फिल्म हेरेपछि मात्रै पाइने दयाहाङले बताए। त्यसका लागि कात्तिक ६ गतेसम्म पर्खिनुपर्ने उनको भनाइ छ।

काजीको चरित्रसँग लामो समयदेखि जोडिएर काम गरेकाले आफूलाई उक्त पात्रप्रति छुट्टै अपनत्व महसुस हुने दयाहाङले बताए। १५ वर्षअघिदेखि काजीको चरित्रसँग जोडिएर काम गर्दै आउँदा उक्त पात्र पर्दाको पात्रभन्दा पनि आफ्नै साथी जस्तो लाग्न थालेको उनको भनाइ छ। ‘यतिका वर्ष गरिसक्दा काजी क्यारेक्टर छोड्छु जस्तो लाग्दैन, तर नजिकको साथी जस्तो आभास हुन्छ,’ उनले भने।

उनले ‘कबड्डी’को दोस्रो भागमा काजीको चरित्रलाई कसरी अगाडि बढाउने भन्ने विषय आफूलाई निकै कठिन लागेको पनि स्मरण गरे। तर लामो यात्रामा पात्रलाई हेर्दा मानिसको जीवनमा आउने परिवर्तनसँगै काजीलाई पनि अगाडि बढाउँदै लगेको उनले बताए।

‘दोस्रो भाग गर्दा चाहिँ मलाई निकै कठिन भएको थियो। काजी क्यारेक्टर कसरी अगाडि बढ्छ भनेर,’ उनले भने, ‘तर एउटा जर्नीमा उभिएर हेर्दा हाम्रो जीवनमा जसरी परिवर्तन आउँछ, त्यसरी नै अगाडि लगेको छु।’ कबड्डीको पहिलोदेखि पाँचौँ भागसम्म आइपुग्दा काजीले भोगेको १५ वर्षको जीवनयात्रासँग काम गर्न आफूलाई रमाइलो लागेको दयाहाङले बताए।

काजीसँगको आफ्नो लामो सम्बन्धकै कारण भविष्यमा यी पात्रलाई अझ परसम्म लैजाने सोचसमेत आफूमा रहेको दयाहाङले सुनाए। ‘यिनै पात्रहरूको ६५ वर्षपछिको मनोदशा कस्तो हुन्छ होला? सबै पात्रहरू कहाँ के गरिरहेका होलान् भन्ने तरिकाले बनाउन मन छ,’ उनले भने।

निर्देशक रामबाबु गुरुङले नगरे पनि आफूले त्यस्तो कथा बनाउने सोच राखेको उनले बताए। ‘रामबाबुले नगरे पनि म गर्छु भन्ने सोच छ,’ उनले भने। लामो समय एउटै पात्रसँग काम गर्दा पात्रप्रति मोह जाग्ने र आफ्नै साथी जस्तो अनुभूति हुने उनको भनाइ छ।

‘१५ वर्षअघिदेखिको काजी पात्रसँगको कनेक्सन र हाम्रो भोगाइले पनि होला, काजी पात्रहरूप्रति एकदमै मोह जाग्ने रहेछ,’ उनले भने, ‘काम गर्दै जाँदा त्यो पात्रप्रति माया लागेर आउने रहेछ। काजी अहिले हाम्रै साथीजस्तो फिल हुने हुन्छ।’

निर्देशक गुरुङकै कथा लेखन रहेको फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, मिरुना मगर, सिर्जना गुरुङ र रिश्मा गुरुङ मुख्य भूमिकामा छन्।

सहायक भूमिकामा पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंले अभिनय गरेका छन्।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी छ। सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।

फिल्मको मुख्य सहायक निर्देशकमा सोमनाथ खनाल र तारानाथ न्यौपाने छन्। नेपालमा फिल्मको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले गर्नेछ भने विदेशी वितरणको जिम्मेवारी सेभेन सिज इन्टरनेसनलले लिएको छ।

कमेन्ट गर्नुहोस्