सौन्दर्य । फरक क्षमता भएका व्यक्तिको सहभागितामा ‘च्यारिटी रनवे भोल्युम–३’ सम्पन्न भएको छ। सीएस इन्टरटेनमेन्ट नेपालको आयोजनामा जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रको एसओएस चिल्ड्रेन्स भिलेज परिसरमा आयोजित कार्यक्रममा २० जना फरक क्षमता भएका प्रतिभाले र्याम्प वाकसँगै विभिन्न मञ्चीय प्रस्तुति दिएका थिए। ‘डिसेबिलिटी इज नट इनएबिलिटी’ अर्थात् ‘अपाङ्गता असक्षमता होइन’ भन्ने सन्देशसहित आयोजित कार्यक्रममा सहभागीले आफूलाई फरक सम्भावना र प्रतिभाका रूपमा प्रस्तुत गरेका थिए।
र्याम्प वाकमा लक्ष्मी सेन्चुरी, अस्मिता राई, दमाया बुढामगर, रोशनी थापा, शारदा शर्मा, रेनु मोक्तान, जुना शाही, झरना घिमिरे, सुशीला शाही, विरू ढुंगाना, सान्नानी श्रेष्ठ, अर्जुन दोङ, सविन थापा, दीपक तामाङ, खड्क रोकाया, तिलकराम थारू, अकलबहादुर तामाङ, राजदेव यादव, कर्मा शेर्पा र विसु पुकार श्रेष्ठ सहभागी थिए।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष नारायणबहादुर सुवेदीले फरक क्षमता भएका व्यक्तिलाई अवसर, सम्मान र सामाजिक सहभागिताको वातावरण निर्माण गर्नु समाज, समुदाय र स्थानीय सरकार सबैको साझा जिम्मेवारी भएको बताए। कार्यक्रममा वडा नम्बर ५ सहयोगीका रूपमा सहभागी भएको थियो।
सीएस इन्टरटेनमेन्ट नेपालकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) छिरिङ शेर्पाले र्याम्प शोका लागि सहभागीलाई १४ दिनको प्रशिक्षण दिइएको बताइन्। ‘फरक क्षमता भएकाले अवसर, प्रोत्साहन र विश्वास पाए आफ्नो प्रतिभा, क्षमता र आत्मविश्वासलाई समाजसामु प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्छन् भन्ने सन्देश दिन कार्यक्रम गरेका हौँ,’ उनले भनिन्।
र्याम्प शोका लागि कोरियोग्राफर टीना राईले सहभागीहरूको क्षमता, आवश्यकता र शारीरिक अवस्थालाई ध्यानमा राख्दै र्याम्प वाक, प्रस्तुति शैली, आत्मविश्वास तथा मञ्चीय प्रस्तुतिसम्बन्धी प्रशिक्षण दिएकी थिइन्। कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ का वडा सदस्यहरू दुर्गा राना मगर (लक्ष्मी), कमला नेपाली, श्रीबहादुर योगी तथा धर्म थिङ लामा, नेपाल अर्थोपेडिक अस्पतालका मेडिकल निर्देशक डा. मुक्ति तिमिल्सिनालगायतको उपस्थिति थियो।
कार्यक्रममा खगेन्द्र नवजीवन केन्द्रका प्रबन्ध निर्देशक गोकर्ण ढुंगाना, बीआईए फाउन्डेसनका सिद्धार्थ शाक्य, पत्रकार, लेखक तथा राष्ट्रिय कराँते रेफ्री करण तामाङ, सगरमाथा आरोहण गर्ने पहिलो महिला प्रहरी अधिकृत तथा गायिका कुञ्जाङ छ्योपेल शेर्पा, पर्वतारोही तथा व्यवसायी उदय केरुङ तथा तामाङ म्युजिक भिडियो मोडल एवं कलाकार पासाङ डोमा पाख्रिनलाई ‘राष्ट्रिय गौरव सम्मान–२०२६’ प्रदान गरिएको थियो।











