‘बाः एक योद्धा’ आजदेखि प्रदर्शनमा

फिल्म । हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘बाः एक योद्धा’ आजदेखि देशभर प्रदर्शनमा आएको छ। काठमाडौं, नेपालगञ्ज, दाङ, धरान र बुटवलमा आयोजित प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएपछि फिल्म आजदेखि देशभरका हलमा प्रदर्शनमा आएको हो।

प्रिमियरमा फिल्म हेरेका अधिकांश दर्शकले ‘बाः एक योद्धा’ दिव्य देवको फिल्म करियरकै ‘टर्निङ पोइन्ट’ बन्न सक्ने प्रतिक्रिया दिएका छन्। त्यस्तै, सुहाना थापाको अहिलेसम्मकै फरक र राम्रो फिल्मका रूपमा पनि दर्शकले प्रशंसा गरेका छन्।

प्रिमियरमा सहभागी दर्शकले फिल्मको कथा धेरै परिवारसँग जोडिन सक्ने बताएका छन्। विशेषगरी आफ्नै सन्तानबाट बुवाआमाले भोग्नुपर्ने अपमान, बेवास्ता र पीडालाई पर्दामा प्रस्तुत गरिएकाले फिल्मसँग आफूहरू जोडिन सकेको दर्शकको प्रतिक्रिया छ।

‘बाः एक योद्धा’ नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीमा केन्द्रित छ। सन्तानका इच्छा पूरा गर्न बुवाआमाले गर्ने संघर्षसँगै वृद्ध अवस्थामा उनीहरूले भोग्नुपर्ने दुःख र एक्लोपनलाई पनि फिल्मले कथामा समेटेको छ।

फिल्ममा दिव्य देव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन्।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा र पटकथा पनि निर्देशक लम्सालले नै लेखेका हुन्। फिल्मका निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह-निर्माता रहेका छन्। शिवराम श्रेष्ठले फिल्मको छायांकन गरेका हुन्। फिल्मलाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गरेको हो।

कमेन्ट गर्नुहोस्