७४ वर्षको उमेरमा मिरा राणाको एकल सांगीतिक साँझ

सङ्गीत । ख्यातिप्राप्त गायिका तथा संगीतकार मिरा राणाको एकल सांगीतिक साँझ आइतबार राजधानीमा सम्पन्न भएको छ। ६ दशक लामो सांगीतिक यात्राका लोकप्रिय गीत प्रस्तुत गर्दै ७४ वर्षीया राणाले आफ्नो सांगीतिक यात्रा सम्झिएकी हुन् ।

कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा खचाखच दर्शकका बीच सम्पन्न कार्यक्रममा राणाले आफूले स्वर दिएका तथा संगीत भरेका चर्चित गीत प्रस्तुत गरिन्। उनको सांगीतिक यात्राका विभिन्न कालखण्ड र सहकार्यलाई समेट्दै कार्यक्रममा अन्य गायक–गायिकाले समेत उनका गीत प्रस्तुत गरेका थिए।

कार्यक्रममा शम्भुजित बास्कोटा, रामभक्त जोजिजु, कृष्णगोपाल श्रेष्ठ, योगेन्द्र उपाध्याय, छिरिङ भुटिया, कपिल लोहनी, क्यान्सरलाई जितेका गायिकाद्वय तारा थापा र संगीता थापा शाक्य, निशा देशार, रुपी सिंह, माण्डवी त्रिपाठी, सविना कार्की, इतु जोजिजु, शितल थापा र युनिशा देशारलगायतले मिरा राणाका गीत प्रस्तुत गरेका थिए। मनोहर सुनामले संगीत संयोजन तथा सञ्चालनको जिम्मेवारी सम्हालेका थिए।

प्रकाश सायमीले सञ्चालन गरेको कार्यक्रममा मिरा राणाले स्वर सम्राट नारायणगोपालसँग गाएका ‘तिमी देउ या नदेउ’, ‘मेरो जोवन लैजाऊ’, ‘आँखैमा कसैको तस्वीर बसेछ’ र ‘बैनीको दया छ भने’ लगायतका गीत प्रस्तुत गरिन्।

त्यस्तै, शम्भुजित बास्कोटासँग गाएको ‘नाच्देउ मैच्याङ’ तथा कुमार बस्नेतसँगको ‘मादल घनघन घन्काउँ कि’, ‘लेक फुल्यो लालीगुराँस’ लगायतका गीत पनि कार्यक्रममा गुञ्जिएका थिए।

राणाका चर्चित एकल गीत ‘मखमली चोलो चाहिँदैन’, ‘मात चढेको साँझ’, ‘नशालु रात’, ‘मेरो पाउमा आज’, ‘साम्द सदा शिव’, ‘बिर्सिएर मैले फेरि’, ‘आजसम्म जसरी बाँचेर आएँ’ र ‘मेरो फूललाई वसन्त भयो’ लगायतका गीत पनि प्रस्तुत गरिएको थियो।

क्यान्सरलाई जितेकी र यही रोगका कारण आफ्ना पति उदयजंग राणालाई गुमाएकी मिराले क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यले ‘मिरा राणा क्यान्सर समाज’ स्थापना गरेकी छन्। सोही समाजमार्फत कोष स्थापना गरी क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यले एकल सांगीतिक साँझ आयोजना गरिएको हो।

सूचना तथा सञ्चार प्रविधिमन्त्री विक्रम तिमल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आयोजक समाजले गायक कुमार बस्नेत तथा संगीतकार शम्भुजित बास्कोटा र दीपक जंगमलाई सम्मान गर्ने घोषणा गरेको छ।

कार्यक्रममा एक संस्थाले मिरा राणाको सांगीतिक योगदानको सम्मान गर्दै ५० हजार रुपैयाँसहित उनलाई सम्मानसमेत गरेको थियो। मिरा राणाको लामो सांगीतिक यात्राका लोकप्रिय गीतलाई एउटै मञ्चमा प्रस्तुत गरिएको कार्यक्रमले उनको सांगीतिक योगदानलाई स्मरण गर्नुका साथै क्यान्सरपीडितलाई सहयोग गर्ने अभियानलाई पनि अघि बढाएको छ।

कमेन्ट गर्नुहोस्