‘म सडकको बच्चा, सडकमै छु’

फिल्म । बालगायक तथा अभिनेता अशोक दर्जीले सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेख्दै आफ्नो वर्तमान आर्थिक अवस्था र जीवनका भोगाइ सार्वजनिक गरेका छन् । बाल्यकालमै गायनमार्फत चर्चामा आएका दर्जीले अहिले आफू गम्भीर आर्थिक संकट र जीवनका विभिन्न उतारचढावबाट गुज्रिरहेको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘मेरो लाइफमा मैले हार पनि खाएँ, जितेँ पनि, फेरि लडेँ पनि । आज म सडकको बच्चा सडकमै छु।’

आफूसँग अहिले पैसा वा बैंक ब्यालेन्ससमेत नरहेको उल्लेख गर्दै दर्जीले दर्शक-श्रोता तथा समाजको सहयोगमा बनेको एउटा घर र कसैले दिएको अधियाँ जग्गाबाहेक आफूहरूसँग अरू केही नरहेको बताएका छन्। सामीप्यमा रहेका संगीतकार टंक बुढाथोकीसँगको पछिल्लो विवाद र सहकार्य अन्त्यतर्फ संकेत गर्दै उनले आफू धेरै थाकिसकेको र अब जीवनलाई सरल ढंगले अघि बढाउन चाहेको बताएका छन्।

झापा गाउँपालिका निवासी दर्जी बाल्यकालमा सडकमा गीत गाउँदै गर्दा संगीतकार टंक बुढाथोकीको नजरमा परेका थिए। बुढाथोकीले उनलाई सांगीतिक क्षेत्रमा अघि बढाउँदै ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ लगायतका गीतमा अवसर दिएका थिए। त्यसपछि दर्जी बालगायकका रूपमा चर्चामा आएका थिए। त्यतिबेला सर्वसाधारण तथा प्रवासी नेपालीको सहयोगमा उनको परिवारका लागि घरसमेत निर्माण गरिएको थियो।

चाडपर्व नजिकिँदै गर्दा परिवार र भाइबहिनीको लालनपालन कसरी गर्ने भन्ने चिन्ताले सताएको पनि दर्जीले बताएका छन्। ‘अब दशैँ-तिहार आउँदै छ, खर्च कसरी चलाउने? पढ्नुपर्ने उमेरमा पैसाको भोक र बाध्यता छ,’ उनले लेखेका छन् ।

गरिब परिवारमा जन्मनु आफ्नो गल्ती नभई भाग्य भएको बताउँदै दर्जीले कसैलाई दोष नदिएको उल्लेख गरेका छन् । आफ्ना कुनै गल्ती भए माफी माग्दै उनले आत्मबल र हौसला भने अझै बाँकी रहेको बताएका छन्। छिट्टै नयाँ गीत लिएर दर्शक-श्रोतामाझ आउने तयारीमा रहेको उल्लेख गर्दै दर्जीले आगामी यात्रामा सबैको निरन्तर साथ र सहयोगको अपेक्षासमेत गरेका छन्।

कमेन्ट गर्नुहोस्