फिल्म । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ । आइतबार राजधानीका विभिन्न हलमा फिल्म हेर्न दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ । हलमा दर्शकको चापसँगै फिल्मप्रति उनीहरूको उत्साह पनि देखिन्थ्यो ।
प्रदर्शनको सुरुवाती दिनदेखि नै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउँदै आएको फिल्मले तेस्रो दिन पनि दर्शक तान्न सफल भएको छ । हलमा फिल्म हेरेर निस्किएका दर्शकले कथावस्तु, कलाकारको अभिनय तथा प्रस्तुतिको प्रशंसा गरेका छन् । प्रदर्शनको पहिलो दिनदेखि नै सकारात्मक प्रतिक्रिया (वर्ड अफ माउथ) पाएको ‘झिङ्गेदाऊ २’ ले हलसम्म दर्शक तान्न सफल भएको छ ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। फिल्ममा सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी छ। रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता हुन्।
विष्णु घिमिरे ‘कल्पित’को छायांकन रहेको फिल्ममा मित्र डी. गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र रोशन श्रेष्ठको एक्सन निर्देशन छ। फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन्।
फिल्ममा केकी अधिकारी र आँचल शर्माका साथै महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाललगायत कलाकारको अभिनय छ। परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन छ।










