‘झिंगे दाउ २’को गीतमा केकी-आँचलको झगडा

फिल्म । ‘झिंगे दाउ’ को दोस्रो भाग ‘झिंगे दाउ २’को एक गीतको छायांकन गरिएको छ । तीजलाई लक्षित गर्दै छायांकन गरिएको शीर्ष गीतमा अभिनेत्री केकी अधिकारी र आँचल शर्मा छमछमी नाचेका छन्। रातो सारीमा सजिएका केकी र आँचलले गीतमा मादल बजाउनुका साथै झगडासमेत गरेका छन्। गीतमा जेठानी–देउरानीबीचको सम्बन्ध र उनीहरूबीच हुने झगडालाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको ‘झिंगे दाउ २’ आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउनेछ। छायांकन गरिएको गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ भने एलिना चौहान र रचना रिमालले स्वर दिएका छन्। गीत भदौ १० गते सार्वजनिक गर्ने तयारी छ।

गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। केकी र आँचलले गीतले दर्शकको राम्रो साथ पाउने विश्वास व्यक्त गरेका छन्। कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको छ। रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता हुन्।

विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी. गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको छ। फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन्।

फिल्ममा केकी र आँचलसँगै महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाललगायत कलाकारको अभिनय रहेको छ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन रहेको छ। फिल्मको टिजरले यसअघि नै दर्शकको ध्यान खिचिसकेको छ।

कमेन्ट गर्नुहोस्