‘गौँथली’ को जापान प्रिमियरमा सहभागी हुन् टोकियो पुगे अरुण

फिल्म । गत साउन १ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘गौँथली’ले घरेलु बजारमा दर्शकको राम्रो साथ् पाएको छ । चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेमा @ बक्सअफिस’ विवरणअनुसार फिल्मले भदौ ६ गते दिउँसो १ बजेसम्म २४ करोड ६८ लाख ५४ हजार २५ रुपैयाँ ग्रस कमाएको छ। उक्त अवधिसम्म फिल्मका ८ लाख ९८ हजार ८ सय ३० वटा टिकट बिक्री भएका छन् । ‘गौँथली’ नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउने दोस्रो फिल्मसमेत बनेको छ ।

डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।

नेपालमा सर्वाधिक कमाउने दोस्रो फिल्म बनेको ‘गौँथली’ ले अमेरिका, अस्ट्रेलिया, बेलायत लगायतका डायस्पोरामा समेत अब्बल प्रदर्शन गरिरहेको छ । यसका साथै भदौ ७ गते (गास्त २३) मा जापान प्रिमियर हुने भएको छ । टोकियोमा रहेको नाकानो जिरो हलमा फिल्मको भव्य प्रिमियर हुँदैछ । उक्त प्रिमियरमा सहभागी हुन् अभिनेता अरुण क्षेत्री जापान पुगिसकेका छन् ।

उनले त्यहाँ टोकियोसँगै अन्य विभिन्न सहरमा हुने शोमा सहभागिता जनाएर दर्शक भेट्नेछन् । ‘गौँथलीलाई लिएर जापानका दर्शक पनि निकै उत्साहित हुनहुन्छ, टोक्योमा २३ सँगै २८ अगस्टमा पनि शो हुँदैछ । यसबाहेक अन्य सहरमा हुने शोमा पनि सहभागी हुनेछु’, अरुणले भने ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन्। फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन्।

कमेन्ट गर्नुहोस्