सङ्गीत । बलिउडका चर्चित गायक नवजोत आहुजा पहिलोपटक नेपाल आएका छन्। उनी बुधबार दिउँसो काठमाडौं आइपुगेका हुन्। ठमेलस्थित क्लब नोभाको पहिलो वार्षिकोत्सवका अवसरमा बुधबार राति आयोजना हुने सांगीतिक कार्यक्रममा आहुजाले प्रस्तुति दिनेछन्। राति ९ बजे सुरु हुने कार्यक्रममा उनले ‘तेरे लिए मंदिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ लगायत आफ्ना चर्चित गीत प्रस्तुत गर्नेछन्।
‘तेरे लिए मंदिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ आहुजाको सांगीतिक यात्राको चर्चित गीत हो। यो गीत उनको ‘खत’ एल्बममा समावेश छ। यसबाहेक ‘तू ही हूँ’, ‘खुद से मोहब्बत’, ‘इंतज़ार’, ‘मेरे हो तुम’ र ‘चले गए’ लगायत उनका गीत पनि लोकप्रिय छन्।
नेपाल आएपछि सञ्चारकर्मीसँग कुरा गर्दै आहुजाले नेपाली दर्शकमाझ प्रस्तुति दिन आफू निकै उत्साहित रहेको बताए। पहिलोपटक नेपाल आएको उल्लेख गर्दै उनले नेपाली संस्कार र संस्कृति आफूलाई मन पर्ने बताए। ‘म पहिलोपटक नेपाल आएको हुँ। मलाई नेपाल मन पर्छ। नेपाली संस्कार र संस्कृति राम्रो लाग्छ,’ उनले भने, ‘नेपाली दर्शकमाझ आफ्नो प्रस्तुति दिन म निकै उत्सुक छु।’
आहुजाले नेपाली संगीतप्रति पनि आफ्नो रुचि रहेको बताए। आफूले नेपाली गीत सुन्ने गरेको उल्लेख गर्दै उनले कुनै नेपाली संगीतकारले गीत गाउन प्रस्ताव गरे आफू तयार रहेको बताए। आहुजाको नेपाल बसाइ तीन दिनको हुनेछ। यस क्रममा उनले काठमाडौंका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गर्ने कार्यक्रमसमेत रहेको छ।
क्लब नोभाका संस्थापक विशाल तुलाचनका अनुसार पहिलो वार्षिकोत्सवको कार्यक्रम भएकाले आमन्त्रित पाहुनालाई प्राथमिकता दिइएको छ। उनका अनुसार कार्यक्रममा करिब ९० प्रतिशत स्थान आमन्त्रित पाहुनाका लागि र १० प्रतिशत टिकट बिक्रीका लागि छुट्याइएको छ।
‘हामीले पहिलोपटक नोभाको सेलिब्रेसन गर्न लागेका हौँ। सेलिब्रेसन कार्यक्रममा दर्शकभन्दा पनि आमन्त्रित पाहुनालाई बढी प्राथमिकता दिएका छौँ,’ तुलाचनले भने। उनका अनुसार कार्यक्रममा आहुजाको मात्रै सांगीतिक प्रस्तुति रहनेछ।












