‘एभेन्जर्सः डुम्सडे’ : डक्टर डुमसँग भिड्दैछन् सुपरहिरो

फिल्म । मार्भलले आफ्ना प्रशंसकलाई सरप्राइज दिँदै आगामी फिल्म ‘एभेन्जर्सः डुम्सडे’को नयाँ विशेष झलक सार्वजनिक गरेको छ । ट्रेलर सार्वजनिक भएको केही सातापछि मार्भलले शुक्रबार साँझ दुई मिनेट १० सेकेन्ड लामो विशेष भिडियो सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको भिडियोमा फिल्मका मुख्य खलनायक डक्टर डुमको पृष्ठभूमि र उनलाई रोक्न एभेन्जर्स तथा एक्स-मेनले गर्ने प्रयासलाई देखाइएको छ । डक्टर डुमको भूमिकामा रोबर्ट डाउनी जुनियर देखिएका छन् ।

विशेष झलकको सुरुवात भिक्टर भोन डुम सिंहासनमा बसेको दृश्यबाट हुन्छ । स्यु स्टर्मको आवाजमा डुम सधैं ‘सबैभन्दा बुद्धिमान व्यक्ति’ रहेको र आफ्ना प्रियजन गुमाएपछि उनी गलत बाटोमा पुगेको कथा सुनाइन्छ ।

भिडियोमा स्यु स्टर्म अर्थात् भेनेसा किर्बीले म्याग्नेटोको भूमिकामा इयान म्याककेलेन, स्टिभ रोजर्सको भूमिकामा क्रिस इभान्स, साङ-चीको भूमिकामा सिमु लिउ, शुरीको भूमिकामा लेटिसिया राइट, थोरको भूमिकामा क्रिस हेम्सवर्थ र ग्याम्बिटको भूमिकामा च्यानिङ टेटमसँग संवाद गरेको देखिन्छ । विनाशले तहसनहस भएको संसारका दृश्यहरू देखाइन्छ । रिड रिचर्ड्स अर्थात् पेड्रो पास्कलले डुमलाई यस विनाशका लागि जिम्मेवार रहेको हो कि भनेर प्रश्न गर्छन् ।

भिडियोको अर्को दृश्यमा थोर र डुमबीचको भिडन्त देखिन्छ । थोरले डुमलाई ‘नर्कका लागि बिन्ती गर्न बाध्य पार्ने’ चेतावनी दिन्छन् । तर डुमले थोरको आक्रमण सहजै रोक्दै उनलाई टाढा फ्याँकिदिन्छन् । त्यसपछि डुमले संवाद बोल्छन्, ‘नर्कले मेरो आदेश मान्छ, किनकि म डुम हुँ।’ यससँगै उनले संसारमा आफ्ना सेन्टिनलहरू परिचालन गरेको दृश्य देखाइएको छ।

एन्थोनी र जो रुसोले निर्देशन गरेको ‘एभेन्जर्सः डुम्सडे’लाई केभिन फाइगी, लुइस डी’एस्पोसिटो र जोनाथन स्वार्ट्जले निर्माण गरेका हुन् । फिल्ममा रोबर्ट डाउनी जुनियर, क्रिस इभान्स, क्रिस हेम्सवर्थ, पेड्रो पास्कल, पल रड, एन्थोनी म्याकी, फ्लोरेन्स प्यु, भेनेसा किर्बी, इबोन मोस-बाकराच, व्याट रसेल, च्यानिङ टेटम, सिमु लिउ, इयान म्याककेलेन, हेली एटवेल, टम हिडलस्टन, जेम्स मार्सडेन, प्याट्रिक स्टुअर्ट, जोसेफ क्विन, सेबास्टियन स्टान, डेभिड हार्बर, लेटिसिया राइट, लुइस पुलम्यान, केल्सी ग्रामर, क्याथरिन न्यूटन, ड्यानी रामिरेज, विन्स्टन ड्युक, एलन कमिङ, हाना जोन-केमेन, रेबेका रोमिजन, माबेल काडेना तथा टेनोच हुएर्टा मेहिया लगायतका कलाकारको अभिनय रहनेछ।

‘एभेन्जर्सः डुम्सडे’मा तीन फरक ब्रह्माण्डका मार्भल हिरोहरू एकअर्कासँग टकरावको अवस्थामा पुग्नेछन् । उनीहरूले अहिलेसम्म सामना नगरेको अस्तित्वगत खतराका रूपमा प्रस्तुत गरिएको डक्टर डुमको सामना गर्नेछन् । सन् २०१९ मा ‘एभेन्जर्सः एन्डगेम’ रिलिज भएपछि यो पहिलो एभेन्जर्स फिल्म हुनेछ । त्यसैले मार्भलका प्रशंसकमाझ यस फिल्मलाई लिएर विशेष उत्साह देखिएको छ । ‘एभेन्जर्सः डुम्सडे’ आगामी डिसेम्बर १८ मा विश्वव्यापी प्रदर्शनमा आउनेछ ।

कमेन्ट गर्नुहोस्