गाउँपालिका राष्ट्रिय महासंघले गर्‍यो ‘गौँथली’ फिल्मलाई सम्मान

फिल्म । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले नेपाली फिल्म ‘गौँथली’ टिमलाई सम्मान गरेको छ । स्थानीय तहले बालबालिकाको क्षेत्रमा संचालन गरिरहेको अभियान ‘बालविवाहमुक्त पालिका’ र फरक क्षमता भएकाहरूको विषयमा गरिरहेको जनचेतनामूलक कार्यलाई टेवा पुग्ने गरी फिल्म ‘गौँथली’ निर्माण भएको जानकारी गराउँदै यसका निर्देशक डा कपिल रिजाल, अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्कालाई महासंघले चितवनमा सम्मान गरेको हो ।

महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले ‘गौँथली’ ले दिएको संदेश नै अहिले स्थानीय तहले काम गरिरहेको विषय रहेको बताइन । उनले भनिन्, ‘गौँथली हेरेपछि हामी स्थानीय तहले गाउँगाउँमा गएर गरिरहेको काम र बुझाउन खोजेको संदेश फिल्मले दिएको आभाष भयो । हामीले भनेको भन्दा बढी फिल्मले दिएको दृश्यसहितको संदेश सजिलै बुझ्न सकिन्छ, त्यसैले हामीले यसका सर्जक र कलाकारलाई सम्मान गरेका हौँ । बालबालिकाको क्षेत्र र फरक क्षमता भएकाको क्षेत्रमा काम गर्दा हामीलाई दुखेको कुरा हामीले फिल्ममा पायौ, हेर्दा यो सामान्य लागेता पनि यसले पार्ने प्रभाव र दिने संदेश सशक्त छ ।’

अध्यक्ष पाण्डेले स्थानीय तहमा ‘गौँथली’ दिएको संदेश बारे चर्चा हुने बताइन । फिल्मका निर्देशक डा कपिल रिजालले फिल्मले दिएको संदेशलाई बुझेर त्यसलाई मनन गरेको भन्दै महासंघलाई धन्यवाद दिए ।

‘गौँथली निर्माणको उदेश्य नै फरक क्षमता भएका प्रति सामाजिक दृष्टिकोण बदल्नु र छोरीलाई पढ्ने स्वतन्त्रता दिनु हो । बालविवाहलाई निरुत्साहित गर्दै सफलताको उडान भर्न छोरीलाई आफ्नै घर र गाउँ समाजबाट प्रेरणा मिल्नु पर्छ, यसका लागि मैले मात्र नभई बुवा (डा भोला रिजाल) ले ‘छोरी बुहारी’ जस्तो फिल्म बनाउनु भएको थियो । हाम्रो फिल्मले दिएको संदेश विशेषत ग्रामिण भेगमा पुग्नु र बुझ्नु जरुरी थियो, गाउँपालिका राष्ट्रिय महासंघले त्यसमा सहयोग गर्नेमा विश्वस्त छु’, निर्देशक डा रिजालले भने ।

अभिनेता अरुण क्षेत्रीले फिल्ममा आफूले निर्वाह गरेको ‘ठूले’ को पात्रले फरक क्षमता भएकालाई प्रेरणा मिलिरहेको खबर आफूले पाएको बताए । ‘ठूलेले धेरैलाई प्रेरणा दिएको छ, त्यो पात्रले फिल्ममा निस्वार्थ रुपमा गरेका कार्यले सामान्य मान्छेलाई पनि एक पटक समीक्षा गर्न बाध्य बनाउँछ । मैले कलाकारितामा निकै मेहनत र इन्जोय गरेको पात्र हो, ठूले ।’

अभिनेत्री सिम्रन खड्काले ‘गौँथली’ मार्फत आफूले शिर्ष भूमिका निर्वाह गर्दा अवसरसँगै चुनौती पाएको बताइन । ‘गौँथलीले छोरी मान्छेले आफ्नो इच्छालाई मार्न नभई सङ्घर्ष गरेर त्यसमा सफलता प्राप्त गर्नुपर्छ भन्ने प्रेरणादायी संदेश दिएको छ । नेपालभरका दर्शक भेट्दा हामीले फिल्ममार्फत भन्न खोजेको भावनालाई बुझ्नु भएको पाएका छौँ’, अभिनेत्री खड्काले भनिन् ।

डा. कपिल रिजाल निर्देशित फिल्ममा अरुण, सिम्रन, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन्। फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन्।

कमेन्ट गर्नुहोस्