नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन हुँदैछ इन्फा अवार्ड : अध्यक्ष मोक्तान

फिल्म । इन्फा इभेन्ट्स यूके लिमिटेडका अध्यक्ष उमेशराज मोक्तानले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्यसहित तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा–२०२६) काठमाडौंमा आयोजना गर्न लागिएको बताएका छन् । बेलायतमा पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरेपछि इन्फा अवार्डलाई विश्वव्यापी बनाउने लक्ष्यसहित यसपटक नेपालमा आयोजना गर्न लागिएको उनले बताए। उनका अनुसार साउन ३० गते काठमाडौंमा हुने अवार्ड समारोह इन्फाको अन्तर्राष्ट्रिय विस्तारको पहिलो चरण हो।

नेपालमा सरकारी वकिलका रूपमा सेवा गरेका मोक्तान सन् १९९६ देखि बेलायतमा बसोबास गर्दै आएका छन्। उनी यती नेपाली एसोसिएसन यूकेका पूर्वअध्यक्ष, एनआरएनए यूकेका पूर्वसल्लाहकार तथा विभिन्न सामाजिक र सांस्कृतिक संस्थामा नेतृत्वदायी भूमिकामा सक्रिय छन्।

मोक्तानका अनुसार नेपाली फिल्मप्रतिको रुचिका कारण उनले सन् १९९८ देखि नेपाली कलाकार संघ यूकेमार्फत नेपालका कलाकारलाई बेलायतमा सांगीतिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी गराउन थालेका थिए। उनले नेपाली फिल्मलाई बेलायतका सिनेमा हलसम्म पुर्‍याउने अभियानमा पनि सक्रिय भूमिका खेलेको बताए।

उनका अनुसार बेलायतमा सम्पन्न पहिलो र दोस्रो इन्फा अवार्डले कलाकार र दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएपछि अवार्डलाई अन्तर्राष्ट्रिय रूपमा विस्तार गर्ने आत्मविश्वास बढेको हो।

यसपटक काठमाडौंमा हुने इन्फा अवार्डको विशेषता प्रत्यक्ष प्रसारण र नेपाली फिल्म क्षेत्रका अग्रपंक्तिका धेरै कलाकारको उल्लेखनीय सहभागिता रहने उनले जानकारी दिए। कार्यक्रममा देश–विदेशका दर्शकले प्रत्यक्ष प्रसारणमार्फत पनि अवार्ड हेर्न सक्ने व्यवस्था मिलाइएको छ।

मोक्तानले यस्ता अन्तर्राष्ट्रिय अवार्ड समारोहले नेपाली फिल्मको बजार विस्तार, विश्वव्यापी पहिचान निर्माण तथा नेपाली कलाकारलाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले नेपाली फिल्मकर्मी, कलाकार, सञ्चारमाध्यम र दर्शकलाई इन्फा-२०२६ सफल बनाउन सहभागी हुन आग्रह गर्दै कार्यक्रमलाई नेपाली फिल्म उद्योगको अन्तर्राष्ट्रिय अभियानका रूपमा लिनुपर्ने बताए।

कमेन्ट गर्नुहोस्