नृत्य । थाइल्यान्डमा आयोजित अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’ मा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ३ स्वर्ण र १ रजत पदक जितेको छ । फिलिपिन्स, दक्षिण अफ्रिका, भारत, म्यानमार, श्रीलंका र आयोजक थाइल्यान्डसहित १६ राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली टोलीले यो सफलता हासिल गरेको हो ।
ग्लोबल डान्स लिग नेपालका राष्ट्रिय निर्देशक रोशन गहतराजका अनुसार ‘एनडिए जुनियर’ले जुनियर मेगा क्रु र टिन्स विधामा प्रथम स्थान हासिल गर्दै दुई स्वर्ण पदक जितेको छ । यही टोलीले जुनियर क्रु विधामा दोस्रो स्थान हासिल गर्दै नेपाललाई रजत पदक पनि दिलाएको छ । त्यसैगरी ‘टिम एनटी’ले लोक विधामा स्वर्ण पदक जितेको छ भने खुला विधामा नेपाल चौथो स्थानमा रह्यो ।
अन्तर्राष्ट्रियमञ्चमा नेपाली टोलीको प्रस्तुति निर्णायक, कन्ट्री डाइरेक्टर तथा दर्शकबाट उच्च प्रशंसा बटुलेको बताइएको छ । प्रतियोगिता अवलोकन गर्न पुगेकी अभिनेत्री परीक्षा लिम्बूका अनुसार नेपालको राष्ट्रिय गान बज्दा र राष्ट्रिय झन्डा फहराउँदा नेपाली प्रतिनिधिमण्डल गर्वले उत्साहित बनेको थियो ।
हालै नेपालमा सम्पन्न ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ बाट छनोट भएका टोलीहरू थाइल्यान्ड पुगेका थिए । रोशन गहतराजको नेतृत्वमा गएको नेपाली टोलीमा ‘टिम एनटी’, ‘दि इननेट सउल’ र ‘एनडिए जुनियर’ सहभागी थिए । यस संस्करणमा नेपालका चर्चित डान्स निर्देशक तथा कोरियोग्राफर जेडी तमू निर्णायकको भूमिकामा रहेका थिए । उनीसँगै न्युजिल्यान्डकी चर्चित कोरियोग्राफर काया पियर्सले पनि प्रतियोगिताको निर्णायकको जिम्मेवारी सम्हालेकी थिइन् ।









