‘गौँथली’ हेरेपछि सेलिब्रेटीले गरे तारिफ

फिल्म । आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘गौँथली’ को भव्य प्रिमियर काठमाडौँमा सोमबारसम्पन्न भएको छ । डाक्टर भोला रिजालले झन्डै २५ वर्ष अगाडि निर्माण गर्नुभएको गीतिकथानक फिल्ममा संवाद हालेर यसपटक उहाँकै छोरा डा कपिल रिजालले ‘गौँथली’ निर्देशन गर्नुभएको छ । फिल्म हेर्न आएका सेलिब्रेटी तथा निम्तालुले फिल्मको विषयवस्तु, कलाकारको अभिनय र निर्देशकीय पक्षको खुलेर तारिफ गरेका छन् । अधिकाँस सेलिब्रेटी फिल्म हेरेर निस्किँदा आँखा रसाईरहेको देखिन्थे ।

फिल्म हेरेर निस्किएपछि अभिनेत्री संचिता लुइँटेलले सम्पूर्ण कलाकारको कामको तारिफ गर्दै सम्पूर्ण पक्षमा सशक्त फिल्म रहेको प्रतिक्रिया दिईन् । उनले भनिन्,‘सबै कलाकारले आफ्नो पात्रलाई जीवन्त बनाउनुभएको छ । फिल्म हेरिरहदा हामी सोही परिवेशमा पुग्छौँ, अरुण र सिम्रनले गरेको कामको जति तारिफ गरेपनि कम नै हुन्छ । सिनेमा घर आइपुग्ने दर्शकले आफ्नो आँशु रोक्न निकै कठिन हुन्छ किनकि फिल्मनै त्यस्तो बनेको छ ।’

उनले आफ्नो सम्पूर्ण परिवार लिएर फिल्म हेर्न सिनेमा घर पुग्नु पर्ने बताइन । फिल्म हेरेर निस्किएका कलाकार किरण केसीले सबैको तारिफ गरे । उनले भने,‘कसको तारिफ गर्ने, कसको नगर्ने त्यसकारण सबैको तारिफ गरेको छु । किनकि फिल्म सबै पक्षमा अब्बल बनेको छ, फिल्म हाम्रो परिवेश र हाम्रो कथामा तयार भएको छ ।’

फिल्म हेरेर निस्किएका निर्देशक ओम प्रतीकले फिल्मको पटकथा, संवाद, निर्देशन र कलाकारको अभिनय अब्बल रहेको बताए । ‘फिल्ममा सबै कुरा मिलेको भएकोले राम्रो बनेको छ । उहाँहरू पटकथा र संवादमा निकै मेहनत गर्नुभएको छ, फिल्म हेर्दा कलाकारले निकै मेहनत गरेको देखिन्छ । फिल्म सम्पूर्ण पक्षले राम्रो बनेको छ’, निर्देशक ओम प्रतीकले भने ।

निर्देशक मिलन चाम्सले निर्देशक डा कपिल रिजालको कामको प्रसंशा गरे । उनले भने,‘बेलायतमा दन्त चिकित्सकका रुपमा प्रसिद्ध भएर पनि निर्देशक रिजाल नेपाली कला, संस्कृति र फिल्म प्रति जुन समर्पणका साथ लाग्नुभएको छ, त्यो प्रशंसनीय छ । उहाँले नेपालीपन बोकेको नेपाली माटोको कथालाई पर्दामा ल्याउनुभएको छ । उहाँले एउटा भावनात्मक कथालाई निकै सुन्दर तरिकाले प्रस्तुत गर्नुभएको छ, फिल्मको तारिफ जति गरेपनि कम हुन्छ ।’

सञ्चारकर्मी प्रकाश सुवेदीलाई फिल्मलाई पूर्ण भने । उनले फिल्म हेर्ने बित्तिकै सञ्चारकर्मीको जिज्ञाशामा सबै पक्षले इमान्दारितापूर्वक काम गरेकोले फिल्म सुन्दर र पूर्ण बनेको प्रतिक्रिया दिए । उनले भने,‘फिल्म हेर्दा आँशु रोक्न सकिन्न, केही दृश्यमा मलाई निकै कठिन भयो । यो फिल्म गज्जब बनेको छ, सबैलाई हेर्न आग्रह गर्छु ।’

फिल्म हेर्न आएका सबैले कलाकारका रुपमा अरुण क्षेत्री र सिम्रन खड्काको अभिनय, कथा र पटकथासँगै संवाद र निर्देशकीय पक्षको तारिफ गरेका छन् । निम्तालु अतिथिको प्रतिक्रिया लिईरहेका निर्देशक डा कपिल रिजाल हर्षित देखिन्थे । आफूले गरेको मेहनत र फिल्ममार्फत व्यक्त गरेको भावनालाई दर्शकले बुझेकोमा उनी दंग थिए ।

‘आज हामीले फिल्म बुझेकाबाट पाएको प्रतिक्रियाले दंग छौँ, किनकि उहाँहरू पूर्ण रुपमा दर्शक नभई समीक्षककै रुपमा हेर्नुहुन्छ । मैले फिल्मकर्मीको मन जितेपछि अब दर्शकको पनि जित्छु भन्नेमा विश्वस्त छु । बुवाले गर्नुभएको काम र दर्शकले मन पराउनुभएको गीति कथानकलाई संवाद हालेर नयाँ स्वरूपमा ल्याउनु पक्कै सहज थिएन, त्यसका लागि हामीले मेहनत पनि गरेका छौँ’, डा निर्देशक रिजालले भने ।

अभिनेता अरुण क्षेत्रीले आफूले पाएको भूमिकालाई न्याय गर्न हरसम्भव प्रयास गरेको बताए । उनले भने,‘मैले सक्दो मेहनत गरेर आफ्नो पात्र ठुलेलाई तयार गरेको थिएँ । आज प्रिमियरमा पाएको प्रतिक्रियाले मलाई बल्ल राम्रो गरे भन्ने महसुस भएको छ, आशा छ फिल्मकर्मी झैँ दर्शकलाई पनि ठुले मन पर्छ ।’

निर्माता सुमन गिरीले पहिलो दर्शकका रुपमा हेर्ने फिल्मकर्मीले दिएको प्रतिक्रियाले उत्साहित भएको बताए । ‘हामीले केही मिलाउनु पर्ने छ भने पनि भन्नुस भनेर सुझाव मागेका थियौँ, तर सबैले यसलाई गज्जब भन्नुभयो । हामीले गरेको मेहनतको फल पाएको झैं महसुस भएको छ, सिनेमाघरसम्म आउने दर्शकको समय र पैसा दुवैको सदुपयोग हुन्छ भन्ने संदेश हामी विश्वस्त भएर दिन सकेका छौँ’, निर्माता गिरीले भने ।

एसएलसी पढ्ने सपना बोकेकी एक बालिकाको उमेर नपुग्दै एक असामान्य देखिने युवासँग विवाह भएपछि आउने उतारचढावमा फिल्म केन्द्रीत छ । चिकित्सकसँगै साहित्यकार रहेका डा भोला रिजालले आफनी श्रीमती सरला रिजालको जीवनी यात्रालाई समेटेर तयार गरेको फिल्म ‘गौँथली’ कै नयाँ स्वरूप यसपटक हलमा आउँदैछ । अर्थात् भाव उही हो, प्रस्तुतीकरण र संवाद यसपटक दर्शकका लागि नयाँ छ ।

निर्देशक डा रिजाल यत्तिको विश्वस्त सुनिनूको कारण यो कथा उनकै आमाको जीवनीसँग प्रभावित छ । किनकि उनका पिताले बाल्यकालमै आमासँग विवाह गरेर अध्यनका क्रममा धेरै समय बाहिर बिताएका थिए । नयाँ ठाउँ, परिवेशसँगै बालबालिका हुर्काउन गरेको सङ्घर्षलाई निर्देशक रिजालले राम्रोसँग बुझेका छन् । साथै गीति कथानकका रुपमा आएको ‘गौँथली’ ले दर्शकको राम्रो साथ पाएको थियो ।

निर्देशक रिजाल निर्देशित फिल्ममा स्वास्थ्य समस्या पनि जोडिएको पाइन्छ । उनले निर्देशन गरेको फिल्म ‘ह्यारीकी प्यारी’ मा ‘स्पर्म डोनेशन’ (वीर्य दान) को विषयवस्तुलाई प्रस्तुत गरेका थिए भने यसपटक ‘गौँथली’ मा ‘अटिजम’ भएको व्यक्तिको जीवनशैलीलाई प्रस्तुत गरिएको छ ।

‘अटिजम’ भएका व्यक्तिलाई लिएर समाजमा फैलिएको भ्रमलाई समेत फिल्मले चिर्नेमा उनी विश्वस्त छन् । किनकि फिल्ममा उक्त भूमिका निर्वाह गरेका अभिनेता अरुण क्षेत्रीलाई पनि अभिनयको प्रस्ताव आउँदा ‘अटिजम’ बारे धेरै जानकारी थिएन, र उनले पाएको जानकारी सही थिएन् ।

ग्रामीण परिवेशमा तयार गरिएको चलचित्रमा ‘अटिजम’ भएका युवकको रुपमा अभिनेता अरुण क्षेत्री र एसएलसी पास गर्ने सपना बोकेकी बालिकाको रुपमा अभिनेत्री सिम्रन खड्का देखिएका छन् । फिल्मका निर्माता सुमन गिरीले फिल्मका सुरुआती दिनमा ‘६ एकान ६’, ‘वडा नम्बर ६’, ‘छक्का पञ्जा’ मा काम गरे । निर्माण र ‘प्रोडक्सन’ मा जोडिएका निर्माता गिरीले सामजिक दायित्व बुझेर ‘गौँथली’ निर्माण गरेको बताए ।

फिल्ममा अभिनेता क्षेत्री र अभिनेत्री खड्कासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारले अभिनय गरेका छन् ।

डा भोला रिजालको कथामा आधारित रहेर तयार गरिएको फिल्म ‘गौँथली’ को संवाद निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका छन् । घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थ बोकेको फिल्म ‘गौँथली’ आगामी साउन १ देखि नेपालभर प्रदर्शन हुँदैछ । यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफडी कम्पनीले वितरण गर्दैछन् भने डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ ।

कमेन्ट गर्नुहोस्