फिल्म । दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्म ‘के घर के डेरा : घर नं २’को टिजर सार्वजनिक भएको छ । टिजरमा फिल्मका मुख्य कलाकार र उनीहरुको पात्रलाई प्रस्ट्याइएको छ । अभिनेता खगेन्द्र लामिछानेबाट सुरू भएको टिजरमा आम नेपाली निम्न वर्गीय परिवारले भोग्ने समस्यालाई समेटिएको छ ।
पृथ्वी एक डेराको रुपमा रहेको र हरेक मान्छेले भाडा तिरिरहेकाले तेरो र मेरो भन्नुको कुनै अर्थ नरहेको सन्देश टिजरमा उल्लेख छ । ‘के घर के डेरा : घर नं २’ जेठ २ मा रिलिज हुँदैछ । यसमा खगेन्द्रसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरेलगायत कलाकारको अभिनय छ ।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको फिल्मको कथा ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धिसागरले लेखेका छन् ।
कृष्णबहादुर थापाले छायांकन गरेको फिल्म ‘के घर के डेरा : घर नं २’को निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।










