दीपाश्रीले सकिन् ‘पार्वती’को डबिङ

फिल्म । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पार्वती’ को डबिङ कार्य अन्तिम चरणमा पुगेको छ । यसैक्रममा फिल्मकी मुख्य अभिनेत्री दीपाश्री निरौलाले आफ्नो भागको डबिङ सम्पन्न गरेकी छन् । डबिङपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै दीपाश्रीले फिल्मको कथा आफूले अपेक्षा गरेभन्दा पनि उत्कृष्ट बनेको बताइन् । फरक शैलीमा निर्माण गरिएको फिल्म र मन छुने पटकथाले आफूलाई निकै प्रभावित बनाएको उनको भनाइ छ ।

फिल्मकी कथाकार तथा निर्देशक नीता ढुङ्गाना अधिकारीले पनि डबिङ कार्य अपेक्षाअनुसार अघि बढिरहेको बताएकी छन् । आफूले कल्पना गरेभन्दा राम्रो फिल्म बनेको उल्लेख गर्दै उनले कलाकार तथा प्राविधिक टोलीको मेहनतप्रति आभार व्यक्त गरिन् । ‘नीता फिल्म्स’को ब्यानरमा निर्माण भएको फिल्म ‘पार्वती’ मा नीता ढुङ्गाना अधिकारी, दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मका निर्माता हरिहर अधिकारी हुन् भने पटकथा शिवम् अधिकारीले लेखेका छन्। शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजरका रूपमा रहेका छन्। फिल्ममा सुदीप बरालको छायांकन, साहिल खानको सम्पादन र रोयल भिमसेनको पोस्टर डिजाइन रहेको छ। यसअघि ‘नीता फिल्म्स’को ब्यानरबाट निर्माण भएको फिल्म ‘ह्रस्वदीर्घ’ ले दर्शकमाझ राम्रो चर्चा बटुलेको थियो । निर्माण टिमले ‘पार्वती’ ले पनि दर्शकको मन जित्ने विश्वास व्यक्त गरेको छ।

कमेन्ट गर्नुहोस्