संगीत । विश्वव्यापी ख्यातिप्राप्त नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनाले राजधानीमा भव्य रूपमा सम्पन्न भएको छ । भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइसको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा विभिन्न चार डिभिजनका विजेताको घोषणा गर्दै प्रतियोगिता सम्पन्न गरिएको हो । देशका पाँच सहर तथा भारतबाट समेत आएका नृत्य प्रतिभाहरूको अडिसनमार्फत छनोट भएका उत्कृष्ट प्रतिस्पर्धीहरूले फिनालेमा प्रभावशाली प्रस्तुति दिएका थिए ।
कडा प्रतिस्पर्धाबीच सम्पन्न फिनालेमा जुनियर डिभिजनतर्फ रिधि सरकार प्रथम भएका छन् भने ‘पप इन स्माइली’ द्वितीय र दीपेश तथा ऋषि तृतीय भएका छन् । त्यसैगरी, जुनियर टिम डिभिजनतर्फ ‘क्रिएटर्स क्रु’ विजेता बनेको छ भने ‘एनडिए जुनियर’ दोस्रो र ‘पूर्वाञ्चल डान्स स्टुडियो’ तेस्रो स्थानमा रहेका छन् । अपर डिभिजनमा साजन पाख्रिन प्रथम, साजन गुरुङ द्वितीय तथा ‘स्टार्स स्टेपर्स क्रु’ तृतीय घोषित भएका छन् । अपर टिम डिभिजनको उपाधि ‘टिम एनटी’ले जितेको छ भने ‘इन्नेट सोल्स’ र ‘एस स्क्वायर फ्यामिली’ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
प्रत्येक डिभिजनका विजेताले जनही एक लाख रुपैयाँ नगद पुरस्कारका साथै २४ क्यारेट सुनको जलप लगाइएको विशेष ट्रफी प्राप्त गरेका छन् । प्रतियोगिताको प्रमुख आकर्षण विजेताहरूले अन्तर्राष्ट्रियमञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नु रहेको आयोजकले जनाएको छ । कार्यक्रमका कलात्मक निर्देशक जेडी तमुका अनुसार अपर र जुनियर टिम डिभिजनका सबै फाइनलिस्ट टोलीहरूले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।
नेपालका यी टोलीहरूले अमेरिकामा हुने ‘वर्ल्ड फाइनल’, थाइल्यान्डमा हुने ‘ग्लोबल डान्स रिप्रेजेन्टेटिभ’ तथा हङकङमा हुने ‘वर्ल्ड सुप्रिमेसी ब्याटलग्राउन्ड’मा सहभागी हुँदै विश्व मञ्चमा आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन् । कार्यक्रमको सफलता तथा नेपाली नृत्य क्षेत्रको विकासबारे बोल्दै राष्ट्रिय निर्देशक रोशन गहतराजले यस प्लेटफर्मले नेपाली प्रतिभालाई विश्वसामु चिनाउने मात्र नभई नेपाली नृत्य क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
ग्रान्ड फिनालेलाई थप आकर्षक बनाउन नेपाली फिल्म तथा मनोरञ्जन क्षेत्रका चर्चित कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा मिरुना मगर, तेरिया फौजा मगर, दयाहाङ राई, परीक्षा लिम्बु, कविता नेपाली, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, शिल्पा मास्के र अभिषेक खड्कालगायत कलाकार अतिथिका रूपमा सहभागी थिए ।
फिनालेको निर्णायक मण्डलमा बलिउडका चर्चित कोरियोग्राफर ग्रान्ड जुरी टेरेन्स लुइस, नेपालका चर्चित ‘वाइल्ड रिपर्ज क्रु’का सदस्य किरण थापा तथा कलात्मक निर्देशक जेडी तमु रहेका थिए । सन् २००८ मा क्यालिफोर्नियाबाट सुरु भएको ‘वर्ल्ड अफ डान्स’ले विश्वभरका प्रतिभाशाली नृत्यकर्मीलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्दै आएको छ । नेपालमा यसको आयोजनाले उदीयमान नेपाली डान्सरहरूका लागि विश्वस्तरीय अवसरको ढोका खुला गरेको आयोजकको विश्वास छ ।










