फिल्म । आगामी नेपाली फिल्म ‘बाः एक योद्धा’को वितरण अधिकार कुवेर सिने डिस्ट्रिब्युसनले लिएको छ । निर्माता वसन्त लम्साल र कुवेर सिने डिस्ट्रिब्युसनबीच मंगलबार फिल्म वितरणसम्बन्धी औपचारिक सम्झौता भएको हो । सम्झौतामा कुवेर सिने डिस्ट्रिब्युसनका सञ्चालकद्वय आशिष एच तामाङ र प्रदीप धामी सहभागी थिए । हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्म ‘बाः एक योद्धा’ भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।
फिल्म कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो । नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका हरि लम्साल रचनाकार तथा गायकका रूपमा परिचित छन् । ‘बाः एक योद्धा’ भने उनको पहिलो फिचर फिल्म निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा र पटकथा पनि लम्साल स्वयंले लेखेका हुन् ।
फिल्मका निर्माता वसन्त लम्साल हुन् । गायक तथा सर्जकसमेत रहेका उनले यसअघि अभिनेता विपीन कार्की अभिनीत फिल्म ‘कर्मा’ निर्माण गरेका थिए ।फिल्ममा अभिनेत्री झरना थापा, सुहाना थापा तथा अभिनेता दिव्यदेव पन्तलगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ ।
‘बाः एक योद्धा’ले नेपाली समाजको यथार्थ पक्षलाई उजागर गर्ने निर्माण पक्षले जनाएको छ । परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्नुपर्ने चुनौतीहरूको कथा फिल्मको मुख्य कथावस्तु रहेको बताइएको छ । शिवराम श्रेष्ठको छायांकन रहेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा रहेका छन् ।












