फिल्म । आगामी शुक्रबार वैशाख २५ गतेदेखि प्रदर्शन हुने फिल्म ‘मालती मंगले’को सेन्सर प्रक्रिया सम्पन्न भएको छ । केही दिनअघि ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ जारी भएपछि सेन्सर बोर्डका सदस्यहरू पदमुक्त हुँदा फिल्म जाँचपास प्रक्रिया अन्योलमा परेको थियो । तर सोही परिस्थितिका बीच पनि उक्त फिल्मले सफलतापूर्वक सेन्सर पास गरेको छ ।
२ घण्टा ३८ मिनेट लामो फिल्मले सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेको छ । प्रमाणपत्र बुझ्न निर्माता तथा गायक रामकृष्ण ढकाल स्वयं उपस्थित भएका थिए । फिल्म यही वैशाख २५ गते शुक्रबारदेखि प्रदर्शनमा आउनेछ ।
सेन्सर बोर्डका सदस्यहरू पदमुक्त भएको अवस्थामा फिल्म जाँचलाई अत्यावश्यक सेवा मानेर चलचित्र विकास बोर्डको प्रतिनिधिको उपस्थितिमा सेन्सर प्रक्रिया पूरा गरिएको हो । यसका लागि बोर्डका तर्फबाट दीपा बस्नेतलाई प्रतिनिधिका रूपमा पठाइएको थियो । जाँचपास समितिका अध्यक्षसहित विभिन्न मन्त्रालयका पदेन सदस्यहरूको उपस्थिति भने यथावत् रहेको थियो ।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्म ‘मालती मंगले’को कथा निर्देशक प्रकु पाण्डेयले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पारेका छन् । फिल्ममा विजय बराल, वर्षा राउत र मेक्सम गौडेलका साथै प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मन्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङलगायत कलाकारको अभिनय रहेको छ ।
फिल्मका ट्रेलर तथा टिजरका साथै ‘सुनैको सपनी’, ‘ढुङ्गा माथि लेऊ’ र ‘झ्याम पारम’ गीत यसअघि नै सार्वजनिक भइसकेका छन्, जसले दर्शकको ध्यान आकर्षित गरेका छन् ।
फिल्मका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईं सह–निर्माताका रूपमा रहेका छन्। प्राविधिक पक्षमा महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ। आरआर फिल्म्सले वितरण गर्ने उक्त फिल्मले दर्शकलाई मनोरञ्जन दिने विश्वास निर्माण पक्षले लिएको छ।












