फिल्म । अभिनेता रितेश देशमुखको ‘ड्रिम प्रोजेक्ट’ मानिएको फिल्म ‘राजा शिवाजी’ नेपालमा पनि रिलिज हुने भएको छ । नेपालका लागि आधिकारिक वितरक नेओम फिल्म्सका कश्यप नरेन्द्र वेद र नवीन उदासले फिल्म भारतसँगै नेपालमा पनि प्रदर्शनमा आउने जानकारी दिएका हुन् । उनका अनुसार फिल्म रिलिजकै दिन विशेष प्रदर्शनी आयोजना गरिनेछ, जसमा भारतीय दूतावासका प्रतिनिधि, नेपाली सञ्चारकर्मी तथा सेलिब्रेटीहरूको सहभागिता रहनेछ ।
वितरक कश्यप नरेन्द्र वेदले छत्रपति शिवाजी महाराजको जीवन र दृष्टिकोणलाई नेपालमा प्रस्तुत गर्न पाउँदा उत्साहित रहेको बताए । उनले फिल्मको महत्वलाई ध्यानमा राख्दै हल सञ्चालकलाई पर्याप्त शो उपलब्ध गराउन आग्रहसमेत गरेका छन् । मराठा साम्राज्यका संस्थापक छत्रपति शिवाजी महाराजको जीवनमा आधारित यस फिल्मको निर्देशन रितेश देशमुख स्वयंले गरेका छन् र मुख्य भूमिकामा पनि उनी नै देखिएका छन् । फिल्ममा रितेशसँगै जेनेलिया देशमुख, सञ्जय दत्त, विद्या बालन, अभिषेक बच्चन र महेश मान्जरेकरको अभिनय रहेको छ ।
विशेष रूपमा, रितेश देशमुखका कान्छा छोरा राहिल देशमुखले यस फिल्ममार्फत अभिनयमा डेब्यु गर्दै शिवाजी महाराजको बाल्यकालको भूमिका निर्वाह गरेका छन् ।











