फिल्म । नेपाली फिल्मका लोकप्रिय अभिनेता प्रदीप खड्काले रामनवमीको अवसर पारेर चितवनमा १८डी सिनेमाको उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा १८डी सिनेमाको अनुभव लिँदै अभिनेता खड्काले चितवनजस्तो पर्यटकीय गन्तव्यमा आधुनिक प्रविधियुक्त सिनेमा थपिनु सकारात्मक भएको बताए । उनले सगरमाथा, रारा ताललगायतका पर्यटकीय स्थललाई यस्तै प्रविधिमार्फत विश्वसामु प्रस्तुत गर्न सके पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने धारणा व्यक्त गरे ।
भरतपुरस्थित सीजी ल्याण्डमार्कको दोस्रो तलामा सञ्चालनमा आएको १८डी सिनेमा फ्लाई ओभर इन्टरटेनमेन्टद्वारा सञ्चालन गरिएको तेस्रो शाखा हो । यहाँ दर्शकले १७ फरक विषयवस्तुमा आधारित एनिमेटेड फिल्ममार्फत विशेष प्रभावसहित मनोरञ्जन अनुभव गर्न सक्नेछन् । एकपटकमा ८ देखि १० जना दर्शकले मात्र अनुभव लिन सक्ने यस सिनेमामा सिट घुम्ने, हिउँ झर्ने र पानी पर्ने जस्ता प्रभावहरू देख्न पाइन्छ । दृश्यअनुसार १८ प्रकारका अनुभूति दिलाउने प्रविधि प्रयोग गरिएको छ ।










