डोल्पाका महिलाको प्रेरणादायी कथामा ‘स्नो लियोपार्ड सिस्टर्स’

फिल्म । डकुमेन्ट्री फिल्म ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर गरिएको छ । बुधबार साँझ ललितपुरस्थित लबिम मलमा आयोजित प्रिमियर शोमा नेपालीसँगै विदेशी दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो । यो डकुमेन्ट्रीले हिमालयको दुर्गम क्षेत्र डोल्पाका दुई आदिवासी महिलाबीचको असम्भव तर शक्तिशाली मित्रताको प्रेरणादायी कथा प्रस्तुत गर्छ । फिल्ममा हिमचितुवा संरक्षणमा संलग्न छिरिङ ल्हामु लामा र १७ वर्षीया तेन्जिन भुटी गुरुङबीचको सम्बन्ध र उनीहरूको यात्रालाई देखाइएको छ ।

फिल्मको निर्देशन सोनम चोकी लामा, बेन आयर्स र एन्ड्रयू लिन्चले गरेका हुन् । कथामा छिरिङ ल्हामुले तेन्जिनलाई मार्गदर्शन गर्दै दुबै जना जोखिमपूर्ण तर सुन्दर हिमाली भूभागमा दुर्लभ तथा संकटग्रस्त हिमचितुवाको खोजीमा निस्किएको देखाइन्छ । फिल्मले संरक्षण क्षेत्रमा महिलाको भूमिकालाई उजागर गर्दै हिमचितुवा संरक्षणका लागि उनीहरूले खेलेको भूमिका र सम्भावनालाई प्रस्तुत गरेको छ । साथै, डोल्पा क्षेत्रमा हिमचितुवाको संख्या बढाउने र स्थानीय स्तरमा हुने यसको हत्या रोक्न प्रेरित गर्ने प्रयाससमेत फिल्मले देखाएको छ ।

फिल्म निर्माणसँगै तयार गरिएको कार्ययोजनाले स्थानीय समुदायलाई अहिंसात्मक प्रविधि अपनाउन सहयोग पुर्‍याउने देखाइएको छ, जसले पशुधनको सुरक्षा गर्दै जीविकोपार्जनलाई संरक्षणसँग जोड्ने उद्देश्य राख्छ ।

नेपाली फोटोग्राफर सोनम चोयकी लामाले आफ्नी दिदी छिरिङ ल्हामुसँग मिलेर हिमचितुवा संरक्षणसम्बन्धी कामलाई क्यामेरामा कैद गर्ने क्रममा यो परियोजना सुरु गरेकी थिइन्, जुन पछि डकुमेन्ट्री फिल्मका रूपमा विकसित भएको हो । यसमा अन्तर्राष्ट्रिय फिल्मकर्मी बेन आयर्स र एन्ड्रयू लिन्चको पनि सहभागिता रहेको छ ।

फिल्मको कथा बेन आयर्स र एन्ड्रयू लिन्चले लेखेका हुन् भने इयान डेभिस, टोर्किल जोन्स, जोआना नतासेगारा र छिरिङ ल्हामु लामाले निर्माण गरेका छन् । छायांकन सोनम चोयकी लामा, एन्ड्रयू लिन्च र रश स्टर्जेसले गरेका हुन् भने सम्पादन केटी ब्रायरले गरेकी छन् । यस फिल्मका कार्यकारी निर्मातामा ओस्कार विजेता निर्देशक जोआना नतासेगारा र हलिउड अभिनेता लियोनार्दो डिकाप्रियो रहेका छन् । ‘स्नो लियोपार्ड सिस्टर्स’ले एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पुरस्कार जितिसकेको छ ।

कमेन्ट गर्नुहोस्