‘नेसनल लिग २०८२’ मा सज्जनको प्रस्तुति

देश । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ‘नेसनल लिग फुटबल प्रतियोगिता २०८२’ यही पुस ३० गतेदेखि सुरु हुँदैछ । शुक्रबार दशरथ रंगशालामा हुने भएको छ, जहाँ चर्चित गायक सज्जनराज वैद्यले विशेष सांगीतिक प्रस्तुति दिनेछन् । माघ २ गते शुक्रबार दशरथ रंगशालामा हुने मच्छिन्द्र क्लब र एनआरटीबीचको खेलअघि सज्जनराज वैद्यको लाइभ प्रस्तुति रहनेछ । वैद्यको भव्य सांगीतिक प्रस्तुति सँगै नेसनल लिग २०८२ को ग्रान्ड ओपनिङ हुने एन्फाले जनाएको छ । युवामाझ निकै लोकप्रिय वैद्यको उपस्थितिले उद्घाटन समारोह थप आकर्षक हुने अपेक्षा गरिएको छ ।

नेसनल लिगमा ए डिभिजनका १३ टोलीसँगै एन्फा प्रेसिडेन्ट लिगबाट आएका चार टोली गरी कुल १७ टोलीको सहभागिता रहनेछ । सिंगल राउण्ड रोबिन प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा कुल १ सय ३६ खेल खेलाइनेछन् । एन्फाले हालसम्म ४८ खेलको मिति र खेलस्थल तोकेको छ भने ६४ खेलको मिति तय भइसकेको छ । बाँकी ७२ खेलको तालिका तय हुन बाँकी रहेको छ । प्रतियोगिताका खेलहरू उपत्यकाका तीन मैदान दशरथ रंगशाला, च्यासल रंगशाला र एन्फा कम्प्लेक्समा सञ्चालन हुनेछन् ।

नेसनल लिगको विजेताले नगद ५० लाख रुपैयाँ पुरस्कार पाउने एन्फाले यसअघि नै सार्वजनिक गरिसकेको छ । राष्ट्रिय लिग फुटबल प्रतियोगिताको लाइभ स्ट्रिम एमएसन भिडियो एपमार्फत हेर्न सकिनेछ । नेपालमा तीन महिनाका लागि ८ सय ९९ रुपैयाँ र विदेशमा तीन महिनाका लागि १५ डलर शुल्क तोकिएको छ । एमएसन भिडियो एपमा हालका सुपरहिट नेपाली फिल्महरू पनि हेर्न सकिने सुविधा रहेको छ । यो एप टिभीमा समेत सजिलै डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्