फिल्म । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कलाकारहरू रहरले नभई देशप्रतिको उत्तरदायित्व बोधका कारण राजनीतिमा प्रवेश गरेको बताएका छन् । कमलपोखरीस्थित एक सिनेमा हलमा नेपाली फिल्म ‘झरीपछिको इन्द्रेणी’ हेरेपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै सभापति लामिछानेले कलाकार मात्र होइन, पत्रकार, खेलाडी, सङ्गीतकर्मीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरू पनि राजनीतिमा आउनुको कारण देश विकासको नाममा पटक–पटक जनमत लिई आम जनताको भविष्यसँग खेलवाड हुनु रहेको बताए ।
‘राजनीति गर्छु भनेर वर्षौँदेखि सक्रिय व्यक्तिहरूको राजनीतिले निराशा फैलाएको छ। आफूले भविष्य सुम्पिएका व्यक्तिहरूले देश विकास गर्न नसकेपछि कलाकारसहित राजनीति बाहिर रहेका व्यक्तिहरूले आफ्नो उत्तरदायित्व सम्झेर राजनीतिमा आउनु परेको हो। उनीहरूलाई राजनीतिमा खासै रुचि छैन, तर देश र भविष्यसँग खेलवाड बढ्दै गएपछि चुप लागेर बस्न सकिएन’, उनले भने ।
राजनीतिबाहिर रहेर पनि देश विकासमा योगदान दिँदै आएका व्यक्तित्वहरूको राजनीतिमा प्रवेश स्वागतयोग्य रहेको उल्लेख गर्दै सभापति लामिछानेले आफू पनि राजनीति गर्ने नाममा निकास दिन नसकिएको अवस्थाका कारण राजनीतिमा आएको बताए ।
‘खेलाडी, कलाकार र पत्रकार मात्र होइन, देश विकासका लागि अन्य विधामा सक्रिय व्यक्तिहरू पनि एक ठाउँमा आउनुपर्छ। अब युवालाई सपना मात्र बाँड्ने होइन, नतिजा दिनुपर्छ। त्यसअनुसार काम गर्न सक्ने नेतृत्वको आवश्यकता अहिले देशलाई छ’, सभापति लामिछानेले भने ।
उनले फिल्म ‘झरीपछिको इन्द्रेणी’ ले भ्रष्टाचार र बेथितिविरुद्धको आवाज उठाएकाले यसले आम जनताको भावना अभिव्यक्त गरेकोसमेत उल्लेख गरे । उनीसँगै रास्वपा नेत्री तोशिमा कार्की, निर्देशक निश्चल बस्नेत, निर्माता अशोक शर्मा लगायतले फिल्म हेरेका थिए ।












