फिल्म । गएको मङ्सिर १८ देखि नेपालमा प्रदर्शनरत फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ ले अस्ट्रेलिया र न्युजिल्यान्डमा ऐतिहासिक प्रदर्शन अवसर पाएको छ । डिसेम्बर ११ (बिहीबार) देखि प्रदर्शनमा आउने यस फिल्मले पहिलो सातामै ५ सयभन्दा बढी शो सुनिश्चित गरेको निर्माण पक्षले जानकारी दिएको छ । फिल्मका सह–निर्माता रमेश चौलागाईंका अनुसार अस्ट्रेलिया र न्युजिल्यान्डमा दर्शकको चाप अत्यन्तै राम्रो रहेकाले शो संख्या अझै बढ्ने सम्भावना छ।
‘पहिलो सातामै पाँच सयभन्दा धेरै शो पाउनु नेपाली फिल्मका लागि ठूलो उपलब्धि हो । दर्शकको मागअनुसार थप शो पनि खुल्नेछन्’, उनले भने । नेपालमा उत्कृष्ट समीक्षासहित प्रदर्शन भइरहेको ‘अभिमन्यु : च्याप्टर-१’ ले जनरा फिल्मका रूपमा राम्रो प्रतिक्रिया पाइरहेको निर्माता पक्षको दाबी छ।
सस्पेन्स शैलीमा बनेको ‘अभिमन्यु : च्याप्टर-१’ मधेसमा विद्यमान दाइजो प्रथालाई मुख्य कथाका रूपमा अगाडि बढाउँछ । साथै, पछिल्लो समय समाजले ‘इजी मनी’ का लागि अपनाइरहेका विभिन्न तरिका र मानसिकतालाई पनि फिल्मले चित्रण गरेको छ । दर्शकहरूले फिल्म प्रभावकारी तरिकाले प्रस्तुत भएको भन्दै यसको सिक्वेल को माग गरिरहेका छन् । मेकरले नै ‘च्याप्टर-१’ राखेकाले निरन्तरता पक्का रहेको अनुमान दर्शकले गरेका छन् ।
सुशान्त गौतम निर्देशित फिल्ममा क्रिएटिभ निर्देशकका रूपमा मदन थापा छन् । मुकेश खनालले पटकथा लेखेका छन् । फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता छन् । कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ सहभागी छन् ।
फिल्ममा शरद महतो डीओपी, मनोज श्रेष्ठ भिएफएक्स, जुनिम गहतराज रंग संयोजन र मदन घिमिरे सम्पादक रहेका छन् ।











