घरेलु बक्सअफिसमा कस्तो छ व्यापार ?

फिल्म । पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्मलाई दर्शकले उल्लेखनीय साथ दिएका छन् । नेपाली कला, संस्कृति र सामाजिक कथामा आधारित फिल्महरूले दर्शकको रुचि बढाउँदै घरेलु बक्सअफिसमा उत्साहजनक व्यापार गरेको चलचित्र विकास बोर्डको ‘बक्सअफिस @ सिनेपाः’ ले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

मङ्सिर २० गतेसम्मको विवरणअनुसार, कात्तिक १४ गतेदेखि प्रदर्शनरत दीपकप्रसाद आचार्य निर्देशित पारिवारिक फिल्म ‘परान’ ले १६ करोड ९७ लाख ९३ हजार ३ सय ५४ रुपैयाँ कमाएको छ । बुबाछोराको कथामा आधारित फिल्मले ५ लाख ९८ हजार ३ सय ९ टिकट विक्री गर्दै स-परिवारलाई हलसम्म आकर्षित गर्न सफल भएको छ । नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठीलगायत कलाकारले फिल्ममा अभिनय गरेका छन्।

यस्तै, गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको सुयोग गुरुङ निर्देशित ‘जेरी अन टप’ ले ३ लाख ९१ हजार ९ सय ९२ टिकट बिक्रीसहित १२ करोड २६ लाख ६ हजार २ सय ४० रुपैयाँ कमाएको छ । अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङलगायत कलाकारसमेत रहेको फिल्म सगरमाथा आरोहण र प्रेम कथामा आधारित छ ।

उपेन्द्र सुब्बा निर्देशित ‘जारी २ : सङ अफ च्याब्रुङ’ ले २ लाख ७ हजार ७ सय १४ टिकट विक्री गर्दै ६ करोड २३ लाख ६९ हजार २ सय रुपैयाँ कमाएको छ । लिम्बू समुदायको जारी परम्परा र च्याब्रुङ संस्कृतिमा आधारित फिल्म कात्तिक २१ देखि प्रदर्शनमा आएको हो ।

अशोक दर्जीको जीवनीमा बनेको टंक बुढाथोकी निर्देशित ‘मनबिनाको धन’ ले १ लाख ४५ हजार ५९ टिकट बिक्रीसहित ३ करोड ७९ लाख २ हजार ८ सय ७९ रुपैयाँ कमाएको छ । फिल्म गत कात्तिक २१ गतेबाट प्रदर्शनमा आएको हो ।

यहि मङ्सिर १२ गतेदेखि प्रदर्शनरत एकता पौडेल निर्देशित ‘हर्ष’ ले पछिल्लो शनिबारसम्म ८ हजार ४ सय ३६ टिकट बिक्री गर्दै २८ लाख २ हजार ३ सय ४६ रुपैयाँ कमाएको छ । खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाहलगायत कलाकारको अभिनय रहेको फिल्म अन्य फिल्मको तुलनामा कमजोर व्यापार गरेको देखिन्छ ।

कमेन्ट गर्नुहोस्