अवार्ड : घट्दो विश्वसनीयता

फिल्म । वि.सं. २०४३ मा लायन्स क्लब, काठमाडौँले वितरण गरेको अवार्डलाई पहिलो फिल्म अवार्ड मानिन्छ । त्यतिबेला कान्छी फिल्म उत्कृष्ट ठहरिएको थियो भने शिव श्रेष्ठले उत्कृष्ट नायक र शर्मिला मल्लले उत्कृष्ट नायिकाको अवार्ड जितेका थिए । त्यसपछि बिस्तारै नेपालमा अवार्डको लहर छायो तर अधिकांश अवार्ड एक–दुईपटक गरेर बन्द भए । नेपाल चलचित्र संघले प्रदान गर्दै आएको मोसन पिक्चर अवार्ड तीन वर्षमै बन्द भयो । केही वर्ष अगाडि प्रिया सिने पत्रिकाले अवार्ड बाँडेको थियो तर दोस्रो संस्करणसमेत हुन पाएन । एक / डेढ दशक अगाडि बिजी भन्ने अर्को फिल्म अवार्ड गरिएको थियो । प्रियाजस्तै एक वर्षमै बन्द भयो । त्यस्तै, नेपाल वान टीभीको अवार्डले पनि निरन्तरता पाउन सकेन ।

तर , पछिल्लो समय नेपालमा बर्षेनी थुप्रै अवार्डहरु भइरहेका छन् । फिल्मकर्मी , संगीतकर्मी वा विधागत क्षेत्रलाई समेटेर प्रोत्साहन गर्ने उदेश्यले अवार्डहरु आयोजना गर्ने गरिन्छ । अवार्डले सम्बन्धित क्षेत्र वा विधामा कार्यरतलाई उत्साह थप्नेसँगै काम गर्ने प्रेरणा मिल्ने विश्वास छ । यद्दपी पछिल्ला वर्षहरुमा बढ्दो अवार्ड आयोजनाहरुले यसको प्रतिष्ठा समेत घटाईरहेको छ । नेपाली रंग क्षेत्रलाई समेटेर हुने गरेको अवार्डको गुणस्तर भन्दा संख्या बढेको आरोप लागिरहेकै अवस्थामा कोरोना भाइरसले महामारी निम्त्यातो । सन् २०१९ को डिसेम्बर अन्तिममा चीनमा भेटिएको कोरोना भाइरसले विश्व नै ठप्प बनायो । यसबाट नेपाल अछुतो रहने कुरै भएन । नेपालमा पनि विश्वका अन्य देशहरु झैँ सबै क्षेत्र ठप्प भए । कोरोना भाइरसको पहिलो लहरको कारण भएको लकडाउन पश्चात पनि फिल्म क्षेत्रलाई भने लयमा फर्किन समय लागिरहेको छ । पहिलो लकडाउन सकिएको केहि समयमै दोस्रो , तेस्रो पटक लकडाउन हुँदा मनोरञ्जन क्षेत्रले अन्य भन्दा बढी सास्ती खेप्नु पर्यो । गीतसंगीत र त्यसको म्युजिक भिडियो निर्माणले तिब्रता पाएता पनि फिल्मले लय समात्न समय लागिरहेकै छ ।

कोरोना भाइरसको कारणले थालिएको फिल्म क्षेत्र कसरी पुनः लयमा फर्काउने भन्ने विषयमा राम्रै बहस पनि भयो । यद्दपी हल संचालनमा आएपछि विदेशी फिल्मले गरेको व्यापारले दर्शक हलसम्म आउनेमा दुइमत रहेन । गएको दुइ वर्षमा नेपाली फिल्मलाई लक्षित गरेर गरिने अवार्डहरु पनि रोकिए । कोरोना भाइरसको महामारीको कारणले गर्दा फिल्महरु प्रदर्शनमा नआएपछि अवार्डहरु स्थगित भए । नेपाल सरकारको तर्फबाट आयोजना गरिने राष्ट्रिय दीर्घसाधना सम्मान तथा पुरस्कार , नेपाल चलचित्र प्राविधिक संघको फिल्म अवार्ड , डिजिटल सिने अवार्ड , नेपाल चलचित्र विकास कम्पनी (एनएफडीसी) राष्ट्रिय अवार्ड , कामना फिल्म अवार्ड , एलजी सिने सर्कल अवार्ड , बक्स अफिस फिल्म अवार्ड , फान अवार्ड , इनास अवार्ड लगायतका अवार्डहरु कोरोना भाइरसको महामारी अगाडी भइरहेका फिल्म अवार्डहरु हुन् ।

यी मध्ये केहि अवार्डहरु निरन्तर थिए भने केहि निरन्तर हुन् सकेका थिएनन् । कोरोना भाइरसको महामारीले सिर्जित अवस्थाका कारण यी अवार्डहरु हुन् सकेका छैनन् । यद्दपी नेफ्टाले भने ९ औँ संस्करणपछि रोकिएको आफ्नो अवार्डको १० औँ संस्करण गत वर्ष नेपालमै सम्पन्न गरेको छ । अन्य निरन्तर भईरहने अवार्डहरु आयोजना हुने तरखरमा छन् । यहिँ चैत्र १२ गते डिसीने अवार्ड हुदैछ । त्यस लगतै एलजी सिने सर्कल अवार्डको आयोजना हुने कार्यक्रम निर्देशक दिनेश डिसीले बताएका छन् । यद्दपी यी अवार्ड हरुदुइ वर्षको अन्तरालमा हुन् लागेका हुन् भने केहि अझै हुने तय छैन । तर , कोरोना भाइरसको महामारीका कारण भएको पहिलो लकडाउन पश्चात अवस्था सामान्य हुँदै गएपछि धेरै अवार्डहरु भए । ती सबै अवार्डहरुले पहिलो संस्करण गरिरहेका थिए ।

फिल्मलाई पनि समेटेर गीतसंगीतका विधा धेरै राखेर त्यो समयमा अवार्डचाहिँ एक दर्जनभन्दा बढी भए । नेपालमा मात्र होइन, विदेशमा समेत नेपाली फिल्म तथा गीतसंगीत जोडेर अवार्ड समारोह सम्पन्न भयो । आउँदो समयमा अवार्डको ताँती तुलनात्मक रूपमा अझ बढी हुने देखिन्छ । तर , अवार्डको संख्या बढाउदै गर्दा स्तरीयता बढाउने होइन खस्काउने काम भयो । पछिल्लो समय अवार्डहरुलाई विदेश जाने टिकेटको रुपमा हेर्न थालिएको छ ।

केहि अवार्डहरु यस्ता भएका छन् , जहाँ अवार्ड लिने र दिनेको मात्र उपस्थिति पनि थियो । दशक अगाडी आयोजना हुने अवार्डहरुले रौनकता ल्याथ्यो । अवार्ड कति पारदर्शी थियो ? त्यसमा बहस त छदैछ , यद्दपी पाउनेको चर्चा हुन्थ्यो नै । तर , पछिल्लो समय हुने गरेको केहि अवार्डले भने गरिमा निकै खस्काएको छ । यहाँ त अवार्ड ‘सेटिङ’ हुन्छ भन्ने चर्चा अन्य क्षेत्रमा समेत हुन् थालेको छ । अवार्डलाई लिएर यसक्षेत्रसँगै अन्य क्षेत्रमा समेत सकारात्मक संदेश प्रवाह भएका छैनन् । कोरोना भाइरसको महामारीले गर्दा नियमित रुपमा हुँदै आएका अवार्ड हुन् नसक्दा अन्य अवार्ड भने हप्तामै तीन वटासम्म भए । प्रशस्त गृहकार्य बिना नाफा कमाउने र अन्य फाइदा लिने स्वार्थ बोकेका अवार्ड बढ्नु यसक्षेत्रका सुखद पक्ष होइन ।

अवार्डको संख्या बढ्नु आफैँमा नराम्रो होइन तर गुणस्तरीय र विश्वसनियता कायम गर्न नसक्नुले नै पछिल्लो समय अवार्डहरु बदनाम हुन् थालेका छन् । यस्तो विकृति हावी भएपछि अवार्डप्रतिको आमदृष्टिकोण स्वाभाविक रूपमा नकारात्मक बनाएको छ । विकृति यति अकासिएको छ कि अवार्डमा लिने र दिन बाहेक देखिन नै छाडेका छन् । त्यसो त अवार्ड आफुले पाउने ग्यारेन्टी नभएसम्म समारोहमा नपुग्नेको संख्यामा पनि कमि छैन । यद्दपी अवार्ड वितरणमा आयोजकको प्रकृति र नियत स्पष्ट नभएकाले समस्या उत्पन्न हुने क्रम बढ्दो छ । विगत दुइ वर्ष यता गर्न नसकेको अवार्ड संवत यहिँ अंग्रेजी महिना अप्रिलमा हुने दिनेश डिसीले बताए । उनि एकै पटक रोकिएको सम्पूर्ण अवार्ड गर्ने पक्षमा छैनन् । उनले एलजी सिने सर्कल अवार्डका रोकिएका अवार्डहरु यो वर्षको अन्त्य र आउँदो वर्षमा सम्पन्न गर्ने बताए ।

‘मैले अवार्डमा निम्त्याएको गेस्टको समय नमिल्दा र कोरोना महामारीकै कारण नभएको हो,’डिसी भन्छन् ,’हामी क्रमशः अवार्ड गर्दै लानेछौं ।’ तर , विगत दुइ वर्ष यता भइरहेको अवार्डको संख्या देखेर उनि पनि चकित छन् । उनलाई पनि ती अवार्डहरु आउँदो समयमा पनि निरन्तर रुपमा होलान् ? भन्ने जिज्ञाषा छ नै । ‘जति धेरै अवार्ड भयो त्यति नै प्रतिष्पर्धा हुन्छ । त्यसैले ती अवार्डहरुले हामीलाई अझै राम्रो गर्ने चुनौती दिने गरेका छन् । अवार्ड के कस्तो त्यो त मापन गर्दिनँ । किनकी त्यसको मापन कलाकर्मी र दर्शकले गर्नु हुन्छ’ डिसीले भने । उनले अवार्डमा उदाउँदै गरेका सम्पूर्णलाई शुभकामना दिँदै निरन्तरताको समेत कामना गरे ।

कामना फिल्म अवार्डका आयोजक समिति सदस्य विदुर गिरीले कोरोना भाइरसको समयमा स्वास्थ्य प्राथमिकतामा भएकाले अवार्ड गर्न नसकिएको बताए । ‘अवार्ड गर्दा सम्बन्धित विधाका सर्जकलाई प्रोत्साहन होस् भन्ने उदेश्यका साथ् गरिन्छ । त्यसैले गर्दा अब गरिने अवार्ड पुराना फिल्मलाई लिएर गर्ने कि नयाँलाई गर्ने भन्ने विषयमा निर्णय भएको छैन’ सदस्य गिरीले बताए । उनले कोरोना भाइरसको कारण सिर्जित अवस्थामा नेपाली फिल्महरु निकै कम रिलिज भएका कारण पनि अवार्ड गर्दा सहभागी फिल्मको संख्या कम हुने बताए । २०७६ साल पश्चात नभएको कामना फिल्म अवार्ड कहिले हुन्छ भन्ने अझै यकिन भएको छैन । किनकी कुन वर्षका फिल्मलाई समेटेर अवार्ड गर्ने ? भन्ने निर्कौल निकाल्न बाँकी रहेको सदस्य गिरीको भनाइ छ ।

कोरोना भाइरसको कारण भएको लकडाउनपछिको समयमा एकवर्ष हल राम्रोसँग संचालन नै भएनन् । भएता पनि केहिँ फिल्म मात्र प्रदर्शनमा आए । यद्दपी उक्त समयमा भएको अवार्डले अघिल्ला वर्षका फिल्महरु वा गीतसंगीतलाई आधार मानेर वितरण गरे । अवार्डबाट गुनासो आउने गरेता पनि त्यसमा केहि गर्न सक्ने अधिकार नभएको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल बताउछन् । ‘हामीले गुनासो सुनेता पनि त्यहाँ गर्न सकेन केहि छैन । यद्दपी हामी मापदण्ड बनाउने तयारीमा छौँ । त्यसले अधिकार दिएमा हामी अवश्य निगरानी गर्नेछौँ’ अध्यक्ष दाहालले बताए । उनले फिल्मकर्मी वा संगीतकर्मीलाई सम्मान गर्नु राम्रो कार्य भएता पनि विकृति फैल्याउने गरि भइरहेको केहि अवार्डले सम्पूर्ण अवार्डको गरिमा घटाई रहेको स्वीकारे । जिल्ला प्रसासन कार्यालयमा दर्ता भएकै भरमा जसले पनि जसरि पनि अवार्ड गर्दा विकृति फैलिएको उनको पनि बुझाइ छ ।

उनि बोर्ड अध्यक्ष भएपछि अवार्ड हुन् सकेको छैन । कोरोना भाइरसको कारणले गर्दा अवार्ड हुन् नसकेको उनले बताए । यद्दपी पछिल्लो समय जुरीले फिल्म हेरेर निर्णय बोर्डलाई बुझाइ सकेका छन् । ‘२०७६ सालको फिल्म र ०७७ मा रिलिज भएका फिल्म हेरेर गरेको निर्णय हामीलाई जुरीले सुम्पि सकेका छन् । अब छिटै नै राष्ट्रपति ज्युको समय मिलाएर अवार्ड समारोहको आयोजना गर्ने तयारी भईरहेको छ’ अध्यक्ष दाहालले भने । उनले बोर्ड एक महिना भित्रमै अवार्ड गर्ने तयारीमा रहेको समेत जनाए ।

अवार्ड आयोजना गर्ने आयोजकको उदेश्यको कारण नव अवार्डहरु विश्वनीय हुन् नसकेको नेफ्टा अध्यक्ष पुस्कर लामाले बताए । ‘अवार्ड गर्नेको उदेश्य गलत हुँदा न त्यो अवार्डले निरन्तरता पाउँछ नत राम्रो रिजल्ट नै दिन्छ । अवार्ड आयोजना कसैको स्वार्थ पूर्ति गर्ने माध्यम बन्नु हुदैन’ अध्यक्ष लामाले भने । उनले बढ्दो अवार्ड चिन्ताको विषय नभएको बताएता पनि विकृतिले भने अवार्डको गरिमा घटाईरहेको स्वीकारे । उनले सरकारको तर्फबाट त्यस्ता उदेश्यमुखी अवार्डहरुमा नियमन गर्नु पर्ने वा सो अधिकार मातहतको चलचित्र विकास बोर्डमा प्रदान गर्नु पर्नेमा समेत जोड दिए । ‘नियमन नगर्दा त्यसले विकृति फैल्याउन सक्छ । त्यसैले बेलैमा सचेत बन्दै अवार्ड आयोजना गर्न दिने स्वीकृति पुर्वनै कडाइ गर्नु पर्छ’ अध्यक्ष लामाले भने । उनले आफ्नो संस्थाले गर्दै आइरहेको नेफ्टा फिल्म अवार्ड आउँदो वर्ष दसैँ अगाडी नै गर्ने तयारी रहेको बताए । उनि थप्छन् , ‘हामी अवस्था सामान्य रहे दसैँ अगाडी नै अवार्ड गर्ने तयारीमा छौँ । प्राय विदेशमा नै आयोजना हुँदै आइरहेको नेफ्टाको नयाँ संस्करण अवस्था र सहजता हेरेर स्वदेश वा विदेशमा गर्ने निर्णय लिने छौँ ।’

डिजिटल फिल्मलाई समेटेर दशक अगाडी देखिनै अवार्ड गर्दै आइरहेका छायाँछवि क्रियसनका अध्यक्ष शान्तिप्रिय पनि आफ्नो अवार्ड चैत्र १२ मा गर्दैछन् । उनि रोकिएको अवार्डको सम्पूर्ण संस्करण गर्ने बताउछन् । ‘कोरोना भाइरसको समस्याले रोकिएको अवार्डबाट नै हामी संस्करण सुरु गर्दैछौँ’ उनले भने । अवार्ड सुरु हुने समयमा डिजिटल फिल्महरु कमै बन्ने भएता पनि उनले आउँदो समयलाई हेरेर लिएको निर्णय अहिले सार्थक भएको छ । ‘हामीले पहिलो संस्करणमा २ फिल्म मात्र पाएका थियौं । अन्य भिडियो फिल्मलाई लिएर अवार्ड गर्न बाध्य भयौं । किनकी त्यो समयमा डिजिटल फिल्म बनेका थिएनन् तर बन्ने प्रक्रियामा थिए’ अध्यक्ष शान्तिप्रियले भने ।

अवार्ड समारोहको आयोजना गर्दौ गर्दा परर्शिताको प्रश्नको सामना गरिरहेका शान्तिप्रिय अवार्डले सबैलाई सन्तुष्ट बनाउन नसके बताउछन् । आफ्नो अवार्डहरुको आयोजना अनुभव र अन्य अवार्डमा जुरी रहदाको अनुभवका आधारमा उनले अवार्डको निष्पक्षतामा प्रश्न उठिरहने स्वीकारे । ‘यहाँ अवार्ड पाउनेलाई सबै निर्णय सहि लाग्छ र नपाउनेलाई गलत । त्यसैले कसैले निष्पक्ष भयो भन्छन् त कसैले मिलेमतोमा छ’ उनले भने । उनले पछिल्लो समय बढ्दो अवार्डको संख्याले विश्वसनीयता बढाउनु नसक्नु दु:खद पक्ष रहेको औल्याए ।

उसो त संसारभरका फिल्म अवार्डमा विवाद हुनु सामान्य मानिन्छ । अवार्ड पाउँदा मक्ख पर्ने, नपाउँदा विरोध गर्ने प्रवृत्ति बाहिर पनि छ । ओस्कार र कान्सजस्ता निकै प्रतिष्ठित अवार्ड पनि कहिलेकाहीँ विवादमा पर्छन् । तर, ती अवार्डको नियत र प्रक्रिया पारदर्शी हुने भएकाले बढी विश्वसनीय छन् । जस्तो : करिब सात हजार जुरी हुने ओस्कार अवार्डमा हलिउडमा एक वर्षभर प्रदर्शन भएका फिल्महरूबीच उत्कृष्ट छानिन्छ, निर्मातासँग आयोजक र जुरीको प्रत्यक्ष साक्षात्कार हुनुपर्दैन, सम्बन्ध हुनुपर्दैन । कान्सको हकमा त्यहीँ प्रदर्शन भएका फिल्मबीच मात्र प्रतिस्पर्धा हुन्छ र निश्चित जुरी तोकिएका हुन्छन् । छिमेकी मुलुक भारतमा भने उत्कृष्ट चयन र वितरण प्रणाली उति पारदर्शी र स्तरीय मानिँदैन । आयोजकको नियत, जुरीको क्षमता र योग्यता, अवार्डको मापदण्ड र प्रकृतिजस्ता पक्ष स्पष्ट नहुँदा अवार्ड मर्यादित हुन् सकेको छैन ।

कमेन्ट गर्नुहोस्