‘हर्ष’ मा राखियो ‘पाहुना’

फिल्म । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘हर्ष’को नयाँ गीत ‘पाहुना’ सार्वजनिक गरिएको छ । स्वर्गीय निर्देशक शिव रेग्मीको शब्द रचना र समीर/हिमालको कम्पोज रहेको यस गीतलाई बसन्त सापकोटाले पुनः संगीत संयोजन (प्रतिवाद) गरेका हुन् । गीतमा गरिमा अधिकारीको सुमधुर स्वर रहेको छ ।

फिल्मका मुख्य बाल कलाकार साइमन वादीलाई फिचर्ड गरिएको गीतको भिडियोमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउत लगायतका कलाकारलाई पनि देख्न सकिन्छ । यो फिल्म रिलिज भएसँगै बाल कलाकार साइमन वादीको चर्चा फिल्मवृत्तमा निकै बढेको छ । उनी हाल विभिन्न हलहरूमा पुगेर दर्शकहरूसँग प्रत्यक्ष भेटघाट (साक्षात्कार) गरिरहेका छन् । साइमनसँगै अभिनेत्री वर्षा राउत पनि विभिन्न हलमा पुगेर दर्शकहरूको प्रतिक्रिया लिइरहेकी छन् ।

दर्शकहरूले दिने उत्कृष्ट प्रतिक्रियाले आफूलाई हर्षित बनाएको अभिनेत्री राउत बताउँछिन् । ‘हर्ष’ फिल्मलाई एकता पौडेलले निर्देशन गरेकी हुन् । यो उनको निर्देशकीय डेब्यु फिल्म हो । उनी स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन् । न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन गरेकी तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा फिल्महरू समेत निर्माण गरेकी छन् ।

फिल्ममा खगेन्द्र लामिछाने र वर्षा राउतसहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय रहेको छ । आलोक शुक्लाको छायांकन, समीर/हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी फिल्ममा रहेको छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको यो फिल्मको कथा स्वयं निर्देशक पौडेलले तयार पारेकी हुन् । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको फिल्मका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे र मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।

कमेन्ट गर्नुहोस्