‘१४औँ नेपाल अफ्रिका इन्टरनेसनल फिल्म फेस्टिभल-२०२६’ माघमा

फिल्म । ‘१४औँ नेपाल अफ्रिका इन्टरनेसनल फिल्म फेस्टिभल–२०२६’ आगामी माघको पहिलो साता काठमाडौँमा आयोजना हुने भएको छ । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सहआयोजनामा यो महोत्सव हुन लागेको हो । आयोजकका अनुसार महोत्सवका लागि फिल्महरू धमाधम प्राप्त भइरहेका छन् ।

महोत्सवका लागि आगामी मंसिरको पहिलो साताभित्र नेपाली फिल्म, आदिवासी फिल्म, वृत्तचित्र, लघु फिल्म तथा म्युजिकल फिल्म समावेश गर्न सकिने आयोजक पक्षले जनाएको छ । फिल्म फ्रि वे डट कम तथा नेपाल अफ्रिका इन्टरनेसनल फिल्म फेस्टिभलको वेबसाइटमार्फत आवेदन दिन सकिनेछ । त्यसैगरी आयोजक विलक्षण क्रियसनको कार्यालयमा सम्पर्क गरेर पनि महोत्सवमा फिल्म समावेश गर्न पाइने छ ।

१५ वर्षअघिदेखि सुरु भएको यो महोत्सवले नेपाल र अफ्रिकासँगै विश्वभरका फिल्म तथा सांस्कृतिक आदानप्रदानमा महत्त्वपूर्ण योगदान दिँदै आएको महोत्सवकी अध्यक्ष तथा कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनकी प्रिन्सिपल डा. मञ्जु मिश्रले बताइन् । महोत्सवको नारा ‘अफ्रिकालाई अफ्रिकन लेन्सबाटै हेरिनुपर्छ’ रहेको छ ।

महोत्सव निर्देशक डब्बु क्षत्रीले आगामी मंसिरको दोस्रो सातादेखि निर्णायक टोलीले फिल्म छनोट प्रक्रिया सुरु गर्ने जानकारी दिए । चयन भएका फिल्महरूको विवरण मंसिरको अन्तिम साता सार्वजनिक गरिने र माघको पहिलो साता महोत्सव आयोजना गरिने उनले बताए । विगतझैँ यसपटक पनि महोत्सवमा विदेशी फिल्मकर्मीको सहभागिता रहनेछ । उत्कृष्ट फिल्म, कलाकार तथा प्राविधिकलाई अवार्ड प्रदान गरिने छ ।क्षत्रीका अनुसार यसपटक महोत्सवमा नृत्यसम्बन्धी प्रशिक्षण, फिल्ममा जेनजी पुस्ताबारे अन्तरक्रिया, मास्टर क्लास तथा कलाकारको चित्र प्रदर्शनी पनि आयोजना गरिने भएको छ ।

कमेन्ट गर्नुहोस्