फिल्म । तिहार पर्वको रौनक सुरु भएसँगै यमपञ्चकको दोस्रो दिन आज लक्ष्मी पूजा र कुकुर तिहार मनाइँदैछ । यो उत्सवको माहोलमा कलाकारहरू पनि तिहारको तयारीमा जुटेका छन् । यही बीचमा आगामी कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘परान’को टिमले देउसी भैलो खेलेर तिहारको रमझम थपेका छन् ।
आइतबार साँझ राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले इन्द्रेणी समाजको हलमा आयोजना गरेको विशेष देउसी भैलो कार्यक्रममा ‘परान’ टिम सहभागी भएको थियो । कार्यक्रममा फिल्मका मुख्य नायिकाहरू केकी अधिकारी र अन्जना बराइलीसँगै निर्देशक दिपक प्रसाद आचार्य, प्रोडक्सन म्यानेजर अनिश अधिकारी र समर चौलागाईं उपस्थित थिए ।
साँझ ५ बजे शुरू भएको एक घण्टे कार्यक्रममा इन्द्रेणी समाजका अध्यक्ष कृष्ण कण्डेल, गायक सरोज लामिछाने, युवराज चौलागाईं, गायिका शिला आले लगायतले सहजीकरण गरेका थिए । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका प्रवक्ता शिखर जंग श्रेष्ठले ‘परान’ टिमलाई स्वागत गर्दै देउसी भट्याएर कार्यक्रमको शुरूआत गरे ।
गायक सरोज लामिछानेले पनि देउसी भट्याएर अतिथिहरूलाई स्वागत गरे । निर्देशक दिपक प्रसाद आचार्यले फिल्मबारे जानकारी दिँदै ‘परान’ शब्द समेटेर रमाइलो देउसी भट्याए । नायिका केकी अधिकारीले तिहारको गीत गाउँदै देउसी भट्याएर माहोललाई झनै रमाइलो बनाइन् । नायिका अन्जना बराइलीले तिहारका बाल्यकालका रमाइला पलहरू सम्झिँदै आफ्नो अनुभव साझा गरिन् ।
प्रोडक्सन म्यानेजर अनिश अधिकारीले तिहार विशेष गीत गाएर माहोललाई थप उल्लासमय बनाए।केकीले तिहारमा झिलीमिली बत्ती र खुशियालीको माहोलले आफूलाई उत्साहित बनाएको बताइन् । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले मौलिकता जोगाउँदै इन्द्रेणी समाजसँगको सहकार्यमा देउसी भैलो कार्यक्रम आयोजना गरिएको बताए ।
कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘परान’ले नेपाली संस्कृति र मौलिकतामा आधारित कथा प्रस्तुत गर्ने निर्माण टिमको दाबी छ । यो कार्यक्रमले तिहारको रौनकसँगै फिल्मको प्रचारमा समेत थप उत्साह थपेको छ ।










