फिल्म । गत असोज १७ गतेदेखि भइरहेको वर्षाले गर्दा देशमा उत्पन्न परिस्थितिक कारण आगामी असोज २४ गते पदर्शन हुने भनिएको फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन अन्यौल भएको छ । सरकारले असोज २० गतेसम्म काठमाडौँ उपत्यका प्रवेशमा रोक लगाएको छ भने असोज २३ देखि पुनः आन्दोलन हुने चर्चा बढेको छ । सोही कारण निर्माता विनोद पौडेलले फिल्म घोषित मितिमा नआउने सङ्केत गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत फिल्म कात्तिक २१ मा ल्याउन आफूले सुझाव पाएको जनाएका छन् । यद्यपि उनले प्रदर्शन मिति भने घोषणा गरेका छैनन् । यसअगाडि भदौ २७ मा प्रदर्शन घोषणा गरिएको फिल्म जेन जी पुस्ताको आन्दोलनका कारण असोज १३ मा प्रदर्शन हुने भनिएको थियो । उक्त मितिमा प्रदर्शकले शो उपलब्ध गराउन कठिनाई हुने भनेपछि असोज २४ लाई प्रदर्शन घोषणा गरिएको फिल्म पुनः नयाँ डेटमा सर्न लागेको हो ।
नेपाली र हिन्दी भाषामा रिलिज हुने भनिएको फिल्म ‘अभिमन्यु : च्याप्टर १’ लाई सेभेन सिज सिनेमाले निर्माण गरेको हो । फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।
सुशान्त गौतमद्वारा निर्देशित यो फिल्मको क्रिएटिभ निर्देशक मदन थापा हुन् भने लेखन मुकेश खनालले गरेका छन्। फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता रहेका छन् भने विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता छन्। जीवन शाक्य लाइन प्रोड्युसरको भूमिकामा छन् । फिल्मको छायांकन शरद महतोले गरेका छन् भने मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन र मदन घिमिरेको सम्पादन रहेको छ ।












