फिल्म । रंगमञ्चबाट फिल्ममा प्रवेश गरेका कलाकारहरूको अभिनयले सधैं प्रशंसा पाउँछ, तर नृत्यमा भने प्रायः आलोचना हुने गर्छ । यद्यपि, फिल्म ‘वरिष्ठ बलराम’को गीत ‘न्यौली बनैमा’मा अभिनेता विजय बरालले गरेको नृत्यले भने चर्चा बटुलिरहेको छ । अभिनयमा सधैं वाहवाही कमाउने विजयले यसपटक नृत्यमा पनि उत्तिकै तारिफ बटुलिरहेका छन् । प्रशान्त शिवाकोटीको शब्द र संगीतमा बनेको यो गीतमा स्वयम् प्रशान्त र शान्तीश्री परियारको स्वर छ । गीतमा विजय बराल र समृद्धि अर्यालले एकअर्कालाई मन पराउने युगल जोडीको भूमिका निर्वाह गरेका छन् ।
शंकाको बीचमा सँगै जीवन बिताउने सहमति गर्ने कथावस्तुमा आधारित यो गीतमा विजयको रोमान्टिक नृत्यले दर्शकको मन जितिरहेको छ । सामाजिक सञ्जालमा गीत र नृत्यको खुबै चर्चा छ । गीतको भिडियोमा विजय चिटिक्क परेर आकर्षक युवकको भूमिकामा देखिएका छन् । उनी फूर्तीका साथ नायिकाको वरिपरि नाच्छन्, रमाउँछन् र फकाउँछन् । कोरससहितको भिडियोमा विजयको आत्मविश्वासले दर्शकको ध्यान खिचेको छ । यो गीत र भिडियो अहिले टिकटकमा पनि निकै लोकप्रिय छ, जहाँ विजयको नृत्य र अभिनयको तारिफ भइरहेको छ ।
यो गीतले फिल्मको प्रचारमा समेत ठूलो योगदान दिएको छ । कात्तिक ६ गते भाइटीकाको अवसरमा रिलिज हुने ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायतका कलाकारको अभिनय छ ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको यो फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुति र आन्भी फिल्मसको सहकार्यमा बनेको यो फिल्मका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की छन् । सामाजिक कथावस्तुमा आधारित यो फिल्मको छायांकन चितवनका विभिन्न स्थानमा गरिएको छ । मनकृष्ण महर्जनको छायांकन, तारानाथ न्यौपानेको मुख्य सहायक निर्देशन, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहेको छ । ‘वरिष्ठ बलराम’ काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।












