फिल्म । यस वर्ष भारतीय बक्सअफिसमा धमाका मच्चाएको फिल्म ‘सैयारा’की अभिनेत्री अनीत पड्डा अब फातिमा सना शेखसँग नयाँ फिल्ममा देखिँदैछिन् । यो फिल्मको मुख्य भूमिकामा बेलायती ड्रामा सिरिज ‘इन्डियन समर्स’का अभिनेता अर्जुन माथुर पनि छन् । यो कोर्ट रूम ड्रामा हो ,जसको शीर्षक ‘न्याय’ राखिएको छ ।
नित्या मेहराको निर्देशनमा बन्ने यस फिल्ममा अन्यायविरुद्ध लड्ने एक युवाको कथा प्रस्तुत गरिनेछ । अनीत यसमा आफूमाथि यौन दुर्व्यवहार गर्ने एक आध्यात्मिक गुरूविरुद्ध साहसका साथ उभिने पात्रका रूपमा देखिने छिन् । फिल्ममा फातिमा सना शेख र अर्जुन माथुर मुख्य भूमिकामा छन् भने निर्देशक नित्या मेहरा र उनका पति करण कापाडियाको सहकार्यमा निर्माण भइरहेको छ ।
यो अनीतको मेहरासँग दोस्रो सहकार्य हो, जसअघि उनीहरूले ‘बिग गर्ल्स डोन्ट क्राई’ सिरिजमा काम गरेका थिए । अहान पाण्डेसँगको रोमान्टिक ड्रामा ‘सैयारा’बाट अनीतले धेरै प्रशंसा कमाएकी थिइन् । यो फिल्म ओटीटी प्लेटफर्म (नेटफ्लिक्स) मा रिलिज भइसकेको छ र दर्शकहरूले घरमै बसेर हेरिरहेका छन् । फिल्म ‘न्याय’ का निर्देशक नित्या मेहराले ‘बार–बार देखो’ र ‘मेड इन हेभन’ जस्ता फिल्म तथा सिरिज बनाएकी थिइन् । फिल्ममा मोहम्मद जीशन अय्युब, रघुवीर यादव र राजेश शर्माजस्ता कलाकारहरू पनि छन् ।












