‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० पर्दामा रिलिज हुँदै

फिल्म । नेपालमा असोज १३ गते दशैंको फूलपातीदेखि रिलिज हुने फिल्म ‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० पर्दामा एकसाथ प्रदर्शन हुने भएको छ । अमेरिकामा यो फिल्म आहाना पौडेलले वितरण गर्नेछन्, जुन उनको फिल्म वितरणमा डेब्यु हो । नेपाली फिल्म वितरक उज्ज्वल पौडेलका छोरा आहाना हाल टेक्सासमा बसोबास गर्छन् । उनले हरिवंश आचार्य अभिनीत यो फिल्मलाई अमेरिकी बक्स अफिसमा रिलिज गर्ने जानकारी दिएका छन् ।

आहानाको वितरण कम्पनी चलचित्र इन्टरटेनमेन्ट एलएलसीले अमेरिकाका ८० पर्दामा फिल्म प्रदर्शनको तयारी गरेको छ । टेक्सास, न्यूयोर्क, ओहायो, पेन्सिलभेनिया, कनेक्टिकट, न्यू ह्याम्सायर, मासाचुसेट्स, नेब्रास्का, जर्जिया, मिजौरी, विस्कन्सिन, नर्थ डेकोटा, मिनेसोटा, आयोवा, मेरिल्याण्ड, वासिङ्टन डीसी, भर्जिनिया, उटाहलगायतका सहर र राज्यमा फिल्म रिलिज हुने बताईएको छ ।

सिनेमार्क, सिनेपोलिस, रेगल सिनेमाज, मार्कस सिनेमाज र एप्पल सिनेमाजजस्ता चेनमा फिल्म प्रदर्शनको तयारी भइरहेको आहानाले जानकारी दिए । सरोज ओली र मोहितवंश आचार्यद्वारा निर्मित यो फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका छन् । फिल्ममा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, राजाराम पौडेल, किरण केसी, दिनेश काफ्ले, सीता न्यौपाने, दिव्य देवलगायतका कलाकारको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्