सङ्गीत । नेपाली साङ्गीतिक ब्याण्ड नेपथ्यले डेनमार्कको राजधानी कोपनहेगनमा भव्य कन्सर्ट सम्पन्न गरेको छ । डेनमार्कको ऐतिहासिक पुलेन हलमा शनिबार आयोजित कन्सर्टमा नेपथ्यले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध बनायो । यो कन्सर्टमा डेनमार्कका साथै फिनल्यान्ड, जर्मनी, नर्वे, अष्ट्रिया, पोल्यान्ड, स्विडेन र बेल्जियमबाट समेत दर्शकहरू उपस्थित थिए ।
कन्सर्टको सुरुवात ब्याण्डका मुख्य गायक अमृत गुरुङले ‘कोशीको पानी’ गीतबाट गरे । यो गीतसँगै दर्शकहरूले चर्को हुटिङ र तालीले हल गुञ्जायमान बनाए । दुई घण्टासम्म चलेको कन्सर्टमा दर्शकहरूले नेपथ्यलाई उत्साहपूर्वक साथ दिए । डेनमार्कमा नेपथ्यको यो कन्सर्ट नौ वर्षपछि भएको हो । नेपाली राजदूत सुम्निमा तुलाधरले कन्सर्टलाई नेपाली उत्सवको संज्ञा दिँदै यसले सांस्कृतिक एकताको सन्देश दिएको बताइन् ।
गायक अमृत गुरुङले गीत प्रस्तुतिका क्रममा दर्शकसँग संवाद गर्दै विदेशमा बस्ने नेपालीहरू एकजुट हुनुपर्ने सन्देश दिए । ब्याण्डले आफ्ना चर्चित गीतहरू मार्फत दर्शकलाई झुमायो र ‘रातो र चन्द्र सूर्य’ गीतसँगै कन्सर्टको बिदाइ गर्यो । कन्सर्टमा अमृतलाई ड्रममा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिए ।











