फिल्म । नेपाली हास्य क्षेत्रका उच्च व्यक्तित्व हरिवंश आचार्यको चर्चित पात्र ‘हरि बहादुर’ फेरि दर्शकमाझ आएको छ । मह जोडीका रूपमा ख्याति कमाएका अभिनेता आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गरेको हरि बहादुर पात्रले दर्शकको मन जितेको थियो । समाजका विकृति र विसङ्गतिमाथि व्यङ्ग्यात्मक प्रहार गर्दै मनोरञ्जन प्रदान गर्ने यो पात्र धेरैका लागि बाल्यकालको अभिन्न हिस्सा बन्यो ।
लामो समयदेखि सानो पर्दा र रङ्गमञ्चमा हराइरहेका हरि बहादुर अब ठूलो पर्दामा दर्शकलाई भेट्न आउँदै छन् । आगामी दसैँको फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शन हुने फिल्म ‘हरि बहादुरको जुत्ता’ मार्फत दर्शकले आफ्नो प्रिय पात्रलाई पुनः भेट्ने अवसर पाउनेछन् । फिल्म हरि बहादुरकै वरिपरी घुम्ने सङ्केत सार्वजनिक टिजरले गरेको छ ।
सार्वजनिक टिजरमा जेलबाट छुटेका हरि बहादुरले समाजमा आफ्नो पुनर्स्थापनाका लागि गर्ने सङ्घर्षलाई देखाईएको छ । हास्य र सामाजिक सन्देशको अनुपम सङ्गमका रूपमा चिनिएको यो फिल्ममा हरिवंश आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाललगायतको अभिनय रहेको छ ।
फिल्मको निर्देशन दीपेन्द्रकुमार खनालले गरेका छन् भने निर्मातामा मोहितवंश आचार्य र सरोज ओली छन् ।‘हरि बहादुरको जुत्ता’ ले दर्शकलाई हाँसो, मनोरञ्जन र सामाजिक सन्देशको संयोजनमार्फत पुरानो सम्झना ताजा गराउने अपेक्षा गरिएको छ ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्मित यो फिल्ममा छायांकन कृष्ण बहादुर थापा र सम्पादन नकुल खड्काले गरेका छन् । सङ्गीतमा बसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको योगदान छ । आशिष अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समीर खरेल र सज्जा चौलागाईंको स्वर फिल्ममा समावेश छ ।










