‘रिमै’ गुरुङ संस्कृतिमा आधारित छ : दयाहाङ

फिल्म । अभिनेता दयाहाङ राईले आफ्नो आगामी फिल्म ‘रिमै’ ले चेलीबेटीको कथालाई देखाउने बताएका छन् । गुरुङ संस्कृतिमा आधारित रहेर तयार गरिएको फिल्मको सार्वजनिक सामग्री हेर्दा ‘कबड्डी’ शृंखलाकै झल्को लागेता पनि यो पूर्ण रुपमा फरक राजेको उनले बताए ।‘फिल्मले गुरुङ समुदायको कला, संस्कार, संस्कृति, भेषभूषा र जीवन दर्शनलाई प्रस्तुत गर्छ । सोल्टा र सोल्टिनीको कुरा भएकोले हेर्दा उस्तै लागेता पनि यो संस्कृतिकै रुपले पनि फरक छ’, अभिनेता राईले भने ।

उनले ‘रिमै’लाई कबड्डी जस्तै होला भनेर नबुझ्न आग्रह गरे । उनले भने, ‘नाता र सम्बन्धका हिसाबले सोल्टा र सोल्टिनीको प्रेम कथा र हकदाबी देखिए पनि यो कबड्डीभन्दा धेरै फरक छ। सम्बन्ध र नाम मात्र उस्तै हो, अरू कुनै कुरा मिल्दैन ।’

उनले राई, लिम्बु, मगर, थकाली, शेर्पा, गुरुङलगायतका समुदायको संस्कार र संस्कृति बाहिरबाट उस्तै देखिए पनि यथार्थमा फरक रहेको बताए । अभिनेत्री रिश्मा गुरुङले आफ्नै समुदायको कथामा आधारित भएकाले दश वर्षपछि फिल्ममा फर्किएको बताइन् ।

‘गुरुङ समुदायको कथा नभएको भए मैले काम गर्ने थिइनँ । बुवा–बाजेले सिकाएको संस्कार र संस्कृति समेटिएको स्क्रिप्ट पढेपछि किन नगर्ने भन्ने प्रश्न आयो’, उनले भनिन् ।

खिल बहादुर गुरुङको निर्देशनमा बनेको यो फिल्म भदौ २० गते रिलिज हुँदैछ । गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा बनेको फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरको अभिनय छ ।

कवि तथा निर्देशक उपेन्द्र सुब्बाले लेखेको पटकथालाई शैलेन्द्रध्वज कार्कीले खिचेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता छन् भने बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माता छन् । दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, विष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि. गुरुङको सम्पादन छ ।

कमेन्ट गर्नुहोस्