‘सुख दुःख’मा मदनकृष्ण अनुबन्ध

फिल्म । अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना अधिकारीको निर्देशकीय डेब्यु फिल्म ‘सुख दुःख’मा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अनुबन्ध भएका छन् । शुक्रबार निर्माण पक्षले उनलाई फिल्मको महत्त्वपूर्ण भूमिकाका लागि अनुबन्ध गरेको हो ।

मदनकृष्णले फिल्मको कथावस्तु मन परेकोले अभिनय गर्न राजी भएको बताए । उनको अनुबन्धले निर्देशक नीता उत्साहित छिन् । उनले भनिन्, ‘स्क्रिप्ट सुनाउँदा उहाँ भावुक हुनुभयो । उहाँले स्क्रिप्ट मन पराएर अभिनयका लागि उत्साहित हुनुभयो ।’

यसअघि गत आइतबार मिथिला शर्मालाई अनुबन्ध गरिएको थियो । मदनकृष्ण र मिथिलाबाहेक मुख्य कलाकारको खुलासा निर्माण पक्षले गरेको छैन । फिल्मको छायांकनका लागि चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलाल अनुबन्धित छन् ।

शंकर पाण्डेले निर्माण व्यवस्थापनको जिम्मेवारी पाएका छन् । ‘नीता फिल्म्स’को ब्यानरमा निर्माण हुने यो फिल्म आगामी वर्ष दसैंको फूलपातीमा रिलिज गर्ने योजना छ ।

कमेन्ट गर्नुहोस्