फिल्म । नेपाली फिल्म ‘सिटामोल’ यही साउन २३ गतेदेखि देशभर प्रदर्शनमा आउँदै छ । कर्णाली क्षेत्रको सामाजिक यथार्थ, जनयुद्धपछिको मनोविज्ञान, मानसिक पीडा र सम्बन्धको कथालाई समेटेर बनेको यो फिल्मले ग्रामीण जनजीवनको कष्टलाई उजागर गर्ने निर्माण टिमले बताएको छ । अभिनेत्री बेनिशा हमालले यो फिल्मले बिग्रिएका सम्बन्ध सुधार्ने कथा प्रस्तुत गर्ने बताएकी छिन् ।
‘यो फिल्मले सम्बन्ध सुधार्ने उपाय सिकाउँछ । आफ्ना मान्छेले साथ दिँदा जीवन सही बाटोमा अगाडि बढ्छ भन्ने कुरा फिल्मले गहिरिएर देखाउँछ’, उनले भनिन् । उनले यो फिल्म सुदूरपश्चिमको सामान्य मानिसको सन्देशमूलक कथामा आधारित रहेको बताएकी छिन् ।
अभिनेता सौगात मल्लले ‘सिटामोल’ लाई औषधिको प्रतीकको रूपमा प्रयोग गरिएको बताए । ‘शारीरिक पीडामा सिटामोलले राहत दिन्छ, तर यो फिल्मले मनको पीडामा काम गर्छ’, उनले भने । यो आफूले खेलेका सबैभन्दा भावुक फिल्ममध्ये एक भएको र कथा सम्झिँदा आँसु आउने उनको भनाइ छ ।
राजबहादुर सानेको निर्देशनमा बनेको यो फिल्ममा सौगात मल्ल र बेनिशा हमालसँगै लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्रीकृष्ण निरोला र जनुका विश्वकर्माले यो फिल्ममार्फत नेपाली रजतपटमा डेब्यू गरेका छन् ।
तुल्सी देवी फिल्म्स प्रालि र जुनतारा फिल्म्सको सहकार्यमा बनेको ‘सिटामोल’ को कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुतिमा बनेको फिल्मका निर्माता भूगोल कुमार कार्की र विकास राज जोशी छन् । अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता छन् भने गंगाराम श्रेष्ठ सह-निर्माता छन् ।











