फिल्म । ज्ञानेन्द्र देउजाको निर्माण र निर्देशनमा बन्ने फिल्म ‘झिँगेदाउ २’ को गीत रेकर्ड गरिएको छ । गायिका शान्तिश्री परियार र गायक वसन्त थापाको स्वरमा ‘आजलाई नाइँ नभन’ बोलको गीत रेकर्ड गरिएको निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी दिए । गायक थापाले ‘छ माया छपक्कै’ पछि दोस्रो पटक नेपाली फिल्मको पाश्र्व गायनमा स्वर भरेका छन् । यो गीतमा संगीतकार अर्जुन पोखरेलको शब्द, संगीत र एरेन्जमेन्ट रहेको छ । गायक थापा र पोखरेलको यो पहिलो सहकार्य हो । गायिका परियार, निर्देशक देउजा र संगीतकार पोखरेलले यसअघि ‘झिँगेदाउ’ को हिट गीत ‘आगो बिना बिँडी जल्दैन’ मा सहकार्य गरेका थिए ।
उक्त गीतको सफलतापछि निर्देशक देउजाले परियारलाई ‘लक्की चार्म’ को रूपमा दोहोर्याएको बताए । उनले भने,‘शान्तिश्रीसँगको सहकार्यले पहिलो भागको गीत हिट भयो, त्यसैले ‘झिँगेदाउ २’ मा पनि उनलाई लियौँ ।’ निर्माण टिमका अनुसार, आगामी १० दिनमा गीतसहित फिल्मको सम्पूर्ण प्रि-प्रोडक्सन कार्य सम्पन्न हुनेछ ।
दसैँ-तिहार लगत्तै छायांकन सुरु गर्ने तयारी छ । ‘झिँगेदाउ २’ पहिलो भागको कथालाई निरन्तरता दिँदै सिक्वेलको रूपमा निर्माण हुँदैछ । निर्देशक देउजाका अनुसार, कथा पहिलो भागको अन्त्यबाट सुरु हुनेछ । फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल बिष्टसहित पहिलो भागका अधिकांश कलाकार दोहोरिनेछन् ।
साथै, एक नयाँ अभिनेता र एक अभिनेत्रीले पनि प्रवेश गर्नेछन् । कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्मका निर्माता शुलभ प्रतिक देउजा र समीक्षा देउजा छन् । ईश्वर घिमिरे प्रोडक्सन हेड रहेको फिल्ममा बिष्णु कल्पितको छायांकन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र मित्र डी. गुरुङको सम्पादन रहनेछ ।










