फिल्म । कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौतिक अवस्थालाई पर्दामा उतार्ने उद्देश्यसहित ‘रेलको बाटो’ नामक नयाँ नेपाली फिल्म बन्ने भएको छ । कस्तुरी प्रोडक्सन प्रालिको निर्माणमा र रेड अम्ब्रेला इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा बन्ने फिल्मको कथा तथा निर्देशन लक्ष्मण सुनारले गर्नेछन् ।
फिल्मको औपचारिक घोषणा गर्दै निर्माण टिमले थिम सहितको पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा ‘गाउँपालिका भवन उद्घाटन’ लेखिएको गेट र मुनि ‘प्रधानमन्त्रीको ज्युलाई स्वागत छ’ भन्ने ठूलो ब्यानर देखिन्छ । उक्त दृश्यले कर्णाली राज्यको लागि ‘दर्शनीय प्रयोगशाला’ मात्र बनेको हो कि भन्ने आलोचनात्मक सन्देश दिने संकेत गर्छ ।
संगीत सुरज पण्डितले तयार पार्ने र निसाल पौडेलले छायांकन गर्ने उक्त फिल्मको पोस्टर डिजाइन राकेश दाहालले गरेका हुन् । फिल्मका कार्यकारी निर्माता नगेन्द्र घिमिरे हुन् । सार्वजनिक पोस्टरमा देखिएको ‘लैजा तेरो सिंहदरबार, मलाई मेरो गाउँ फिर्ता दे’ भन्ने वाक्यले राज्यको उपेक्षामाथि गहिरो भावनात्मक र राजनीतिक संकेत गरेको छ ।
निर्देशक सुनारका अनुसार, फिल्ममा सामान्य नागरिकको संघर्ष, श्रीमान्–श्रीमतीबीचको सम्बन्ध, र राजनीतिक बेवास्तालाई कथानकको मूल विषय बनाईएको छ । ‘कर्णालीका सडक अभाव, उपचारको कठिनाइ, विकास योजनामा देखिने हस्तक्षेप र शक्ति केन्द्रको नजरन्दाजजस्ता विषयहरू फिल्मको मुख्य कथा हुन्’, उनले भने ।
फिल्म यो वर्षको अन्त्यतिर कर्णालीका विभिन्न जिल्लामा छायांकन गरिने र विसं २०८३ सालमा प्रदर्शनमा ल्याइने योजना रहेको निर्देशक सुनारले जानकारी दिए । हाल पटकथा अन्तिम चरणमा रहेको र कलाकारको टुंगो चाँडै लाग्ने निर्माण पक्षले जानकारी दिएको छ ।












