फिल्म । अहान पाण्डे र अनीत पड्डा अभिनित फिल्म ‘सैयारा’ नेपालमा पनि प्रदर्शन हुने भएको छ । मोहित सुरीले निर्देशन गरेको यो फिल्म शुक्रबारदेखि विश्वव्यापी प्रदर्शनमा आउँदैछ । भारतमा आक्रामक बुकिङ सुरु भएसँगै चर्चा रहेको फिल्मलाई नेपालमा ए एट र आरआर फिल्म्सले नेपाल भित्राएको हो । ‘सैयारा’ भारतमा नयाँ अनुहारको फिल्ममा सर्वाधिक ओप्नीङ गर्ने फिल्म बन्ने भएको छ । यसको बुकीङ ट्रेण्डलाई ‘कहो ना प्यार हे’ सँग तुलना गरिएको छ ।
अग्रिम बुकिङको तथ्याङ्कअनुसार, फिल्मले पहिलो दिन दोहोरो अंक अर्थात् १० करोड भारुभन्दा बढी कमाउन सक्ने अनुमान छ । यशराज फिल्म्सको ब्यानरमा बनेको यो फिल्मबाट अहान पाण्डेले डेब्यू गर्दैछन् । उनी अनन्या पाण्डेका काका हुन् र सामाजिक सञ्जालमा पहिले नै उनीसँग राम्रो फ्यान फलोइङ छ । अनीत पड्डाले काजोलसँग ‘बिग गर्ल्स डोन्ट क्राइ’ वेब सिरिज र ‘सलमा भेन्की’ फिल्ममा काम गरिसकेकी छन् ।
‘सैयारा’को प्रि-सेल्सले धेरै ठूला फिल्मलाई पछाडि पार्न सफल भएको छ । फिल्मको टिकट मल्टिप्लेक्समा मात्र नभई सिंगल स्क्रिनमा पनि बिक्री भइरहेको छ ।फिल्मको बजेट करिब ४५ करोड भारु छ, जुन कम बजेटले यसलाई हिट हुने सम्भावना बलियो बनाउँछ । रिलिजअघि नै फिल्मले राम्रो प्रतिक्रिया पाउनुको मुख्य कारण निर्देशक मोहित सुरी हुन्, जसले रोमान्टिक ड्रामा फिल्ममा दर्शकको मन जित्ने कला राम्रोसँग बुझ्छन् । उनका फिल्म ‘आवारापन’, ‘आशिकी २’ र ‘एक भिलेन’ ले रोमान्सका लागि छुट्टै पहिचान बनाएका छन् ।
‘सैयारा’ ले भारतसँगै नेपालमा पनि राम्रो सुरुआत गर्ने सम्भावना देखिएको छ । फिल्मले पहिलो दिन शुक्रबार प्राप्त गरेको शोमा दर्शकको चासो बढ्नुका साथै राम्रो उपस्थिति हुने देखिएको छ । नेपालका प्रदर्शकले फिल्मको शो खुलाएसँगै दर्शकले टिकट खरिद गरिरहेका छन् । यो ट्रेण्डले फिल्मले नेपालमा राम्रो व्यापार गर्ने सङ्केत गरेको छ ।










