फिल्म । क्यानडाको ब्रिटिश कोलम्बियास्थित सरेमा रहेको हास्य कलाकार कपिल शर्माको ‘क्याप्स क्याफे’मा बुधबार राति गोलीबारी भएको छ । कपिल शर्मा र उनकी पत्नी गिन्नी चतरथले गत जुलाई ४ मा यो क्याफे उद्घाटन गरेका थिए । मिडिया रिपोर्टअनुसार, आक्रमणकारीले क्याफेमा कम्तीमा ९ राउन्ड गोली चलाएका थिए । एनडीटीभीको रिपोर्टले खालिस्तानी आतंककारी हरजीत सिंह लाडीले आक्रमणको जिम्मेवारी लिएको दाबी गरेको छ । लाडी भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए)को मोस्ट वान्टेड आतंककारीको सूचीमा रहेका र बब्बर खालसा इन्टरनेशनल (बीकेआई) सँग सम्बन्धित व्यक्ति हुन् ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा एक व्यक्ति कारभित्र बसेर क्याफेतर्फ लगातार गोली चलाइरहेको देखिन्छ । सरे प्रहरीका अनुसार, जुलाई १० मा बिहान १:५० बजे १ सय २० स्ट्रिटको ८ हजार ४ सय ब्लकमा गोली चलेको सूचना प्राप्त भएको थियो । प्रहरीले घटनास्थलमा पुग्दा क्याफेको सम्पत्तिमा क्षति पुगेको पाइएको छ, तर कर्मचारीहरू भित्र रहे पनि कसैलाई चोटपटक लागेको छैन ।
हरजीत सिंह लाडी र तुफान सिंह नामका व्यक्तिले सामाजिक सञ्जालमार्फत कपिल शर्माको कमेडी शोमा निहंग सिखहरूको पोसाक र व्यवहारबारे गरिएको ‘हास्यास्पद’ टिप्पणीले धार्मिक भावना आहत भएको भन्दै आक्रमणको कारण खुलाएका छन् । उनीहरूले कपिलका म्यानेजरलाई सम्पर्क गर्न खोज्दा बेवास्ता भएको र सार्वजनिक माफी नमागे थप कारबाही गर्ने चेतावनी दिएका छन् । यद्यपि, कपिलले कुन टिप्पणी गरे भन्ने स्पष्ट छैन । यसअघि, निहंग नेता बाबा बलबीर सिंहले पनि कपिलको सामग्रीमा आपत्ति जनाएका थिए ।
सरे प्रहरीले घटनास्थललाई सिल गरी फोरेन्सिक अनुसन्धान सुरु गरेको छ, जसमा सीसीटीभी फुटेज र बुलेट क्यासिङको विश्लेषण भइरहेको छ । क्याप्स क्याफेले सामाजिक सञ्जालमा एक भावुक सन्देश जारी गर्दै आक्रमणको निन्दा गरेको छ र हिंसाविरुद्ध एकताबद्ध रहने प्रतिबद्धता व्यक्त गरेको छ ।










