फिल्म । हास्यकलाकार केदार घिमिरे पहिलोपटक मुख्य भूमिकामा रहेको फिल्म ‘माग्ने राजा’ आफ्ना कन्टेन भन्दा पनि पारिश्रमिकका कारण चर्चामा छ । सिरियलमा स-साना भूमिकामा देखिदै अभिनय यात्रा सुरू गरेका अभिनेता घिमिरे आफ्ना पारिश्रमिकका कारण ट्रोल हुन् थाले । ६१ लाख रुपैयाँ अभिनेता घिमिरेले लिएको र निर्माण पक्षले दिएको कुरामा संशय भएपछि यसका नयाँ तथ्यलाई बाहिर ल्याईएको छ ।
अभिनेता घिमिरेले हालै एक कार्यक्रममा फिल्मलाई चर्चामा ल्याउन महङ्गो पारिश्रमिकको हल्ला फ़ैल्याइएको र त्यसमा निर्माता र निर्देशक कारक रहेको भनेपछि यतिबेला यसको चर्चा बढ्दो छ । ‘मैले एक प्लेट मोमोमा निर्माता मुनाल घिमिरेको सिरियलमा काम गरेको थिएँ । अब भन्नुस् उहाँले मलाई ६१ लाख दिनुभयो होला त ? मैले माग्ने आट गरे होला त ? मैले ६१ लाख ल्याएको प्रमाण दिनेलाई म सोही बराबरको रकम दिन्छु’, अभिनेता घिमिरेले भने ।
अभिनेता घिमिरेको भनाइ सार्वजनिक भएपछि निर्माता मुनाल घिमिरेले एक टेलिभिजन कार्यक्रममा आफूले ५१ लाख दिएको बताएका छन् । पोस्टर सार्वजनिक कार्यक्रममा ५१ लाख दिएको र १० लाख ट्याक्स प्रयोजनमा हुने सङ्केत गरेका निर्माता घिमिरेले कुरा फेरेका हुन् ।
‘मैले ५१ लाख दिएँ भनेको हुँ, त्यो फिल्मको मुनाफाको हिस्सा, पारिश्रमिक गरेर दिएको हुँ । म फिल्म प्रदर्शन अगाडि नै बैंक स्टेटमेन्टमार्फत ५१ लाख दिएको प्रमाणित गर्न सक्छु, गर्नेछु । उनलाई हामीले महङ्गो रकम दिएको नै हौँ’, निर्माता घिमिरेले भने ।
फिल्मको पोस्टर, टिजर र गीत समेत सार्वजनिक भइसक्दा पनि यसको ‘हाइप’ बढाउने काम अभिनेता घिमिरेको पारिश्रमिकले नै गरिरहेको छ । आपसी लेनदेनका कारण चर्चाममा रहेता पनि यो खबरले फिल्मलाई फाइदा गर्छ वा घाटा ? यो भने आउँदो भदौ ६ मा मात्र थाहा हुनेछ ।
ऋषि लामीछानेको निर्देशनमा तयार भएको फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन, सामीप्यराज तिमल्सेनाको लेखन, सुजिल कर्माचार्यको पाश्र्व सङ्गीत र मित्र गुरुङको सम्पादन छ । ‘माग्ने राजा’ भदौ ६ गते नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुने तयारीमा छ। फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ।











