‘कोशेढुंगा’ नेपालसहित ४० देशमा एकसाथ रिलिज हुँदै

फिल्म । आगामी भदौ १२ गतेदेखि फिल्म ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा बढी देशमा एकसाथ रिलिज हुने भएको छ । सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्देशक सरोज पौडेलद्वारा निर्देशित यो फिल्म नेपाल, अमेरिका, अस्ट्रेलिया, जापान, युके, क्यानडालगायतका देशमा प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ ।

फिल्मलाई सेभेन सिज इन्टरनेसनलका प्याट्रिक सुवेदी र रमेश ढकालले अन्तर्राष्ट्रियबजारमा वितरण गर्दैछन् । ‘कोशेढुंगा’को छायांकन स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा गरिएको छ भने काठमाडौँमा सेट निर्माण गरी केही दृश्य खिचिएको छ । गाउँले परिवेशमा आधारित यो फिल्मले मौलिक कथा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

केही समयअघि सार्वजनिक गरिएको फर्स्टलुक पोस्टरमा अभिनेत्री सुरक्षा पन्तलाई गाउँले महिलाको चरित्रमा पछ्यौरी ओढेको ग्रामीण पृष्ठभूमिमा प्रस्तुत गरिएको छ ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको ‘कोशेढुंगा’ मा सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय छ । फिल्मका निर्माता प्रेविल कँडेल र किशोर अनुराग, कार्यकारी निर्माता दिनेश खड्का, छायाँकार बाबु श्रेष्ठ, सम्पादक नहकुल खड्का, सङ्गीतकार आशिष अविरल र रिदम कँडेल, र कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा छन् ।

कमेन्ट गर्नुहोस्