फिल्म । भारतीय अभिनेता अल्लु अर्जुनको फिल्ममा अभिनेत्री दीपिका पादुकोण जोडिएकी छिन् । हालै सन्दीप रेड्डी वांगाको फिल्म ‘स्पिरिट’ बाट हटाइएपछि आलोचना र चर्चामा आएकी दीपिकाले अल्लु अर्जुनसँग जोडी बाध्ने खबरले सबैलाई चकित बनाएकी छिन् । उनी निर्देशक एटली कुमारको बहुप्रतीक्षित मेगा प्रोजेक्ट ‘AA22A6’ मा अनुबन्धित भएकी हुन् ।
यो फिल्मलाई दक्षिण र बलिउडको ठूलो सहकार्यका रूपमा हेरिएको छ । हालै सार्वजनिक एक भिडियोमा दीपिकाले उत्साहका साथ फिल्मको सम्झौतामा हस्ताक्षर गरेको दृश्यले प्रशंसकहरूमा कौतूहलता थपेको छ । यद्यपि, मिडिया रिपोर्टहरूमा फिल्मको कथावस्तु र बजेटलाई लिएर विभिन्न दाबीहरू भइरहेका छन्, जसले रहस्यको पर्दा झन् गाढा बनाएको छ ।
चर्चा छ, दीपिकाले यो फिल्मका लागि मोटो रकम पारिश्रमिक मागेकी छन् । स्रोतका अनुसार, उनले ‘स्पिरिट’ को अनुभवलाई आधार बनाउँदै एटलीसँग कडा सर्त राखेको बताइएको छ । यद्यपि, यसबारे दीपिका वा फिल्म टिमबाट आधिकारिक पुष्टि हुन बाँकी छ । प्रशंसकहरू उनको यो जोखिमपूर्ण तर रोमाञ्चक निर्णयको नतिजा हेर्न आतुर छन् ।










